जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा र तराई भूभागमा गर्मी बढ्ने बताएको छ ।
महाशाखाका अनुसार भोलि कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना छ ।
शुक्रबार देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थान तथ कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।
भोलि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने र पर्सी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
