मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

मधेश प्रदेशसभाको आज  बस्ने वैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले बैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन ।

सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिन भित्रमा विश्वसको मत लिनु पर्ने कानुनी व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेकाे प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाका सभामुख रामअशिष यादवलेआज दिउसो १ वजेका लागि प्रदेशसभाको वैठक बोलाएका छन् ।  मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई जनमत पार्टीले समर्थन फिर्ता लिए पनि जसपा नेपाल र नेपाली कम्युनिष्ट पार्टीको समर्थन भने कायमै रहेको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले समर्थन फिर्ता लिएका दलले पनि समर्थन गर्ने किसिमको वातावरण तयार भइरहेको बताउदै  सरकार बाहिर रहेका दलहरुलाई पनि सरकारमा समेटने किसिमको वातावरण तयार भैइरहेको दावि गरेका छन् ।

मधेश प्रदेशसभामा अहिले जसपा नेपालको २६, नेकपा (एमाले¬) को २४, नेपाली काँग्रेसको २२, नेपाली कम्युनिष्ट पार्टीको १५, जनमत पार्टीको १२, नेपाल संघीय समाजवादी पार्टीको १ र राप्रपा नेपालको १ जना प्रदेश सभा सदस्य कायम छ । दुई जना प्रदेशसभा सदस्य निलम्वनमा परेकाे र  चार जना प्रदेशसभा सदस्यले गत निर्वाचनको समयमा राजीनामा दिएका थिए  ।

मधेश प्रदेशसभा हाल कायम रहेको १०३ प्रदेशसभा सदस्यमा बहुमतका लागि ५२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।  यसैबिच मधेस प्रदेश सरकारमा नेकपा (एमाले) सहभागी भएको छ । एमालेको तर्फबाट महम्मद समिरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *