सवारीको पहिचान सडकको गेटबाटै

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने प्रावधान लागु भएसँगै त्यसको कार्यान्वयनका लागि मुलुकको विभिन्न आठ ठाउँमा इम्बोस्ड नम्बर प्लेटको ट्रेसिङका लागि उच्च सेन्सर भएको क्यामरासहित ‘रेडियोफ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइसगेट’ (आरएफआइडी) निर्माण गरिने भएको छ ।

पहिलो चरणमा मुलुकभरि १० ठाउँमा यस्तो गेट निर्माण गरिने छ । यसमध्ये दुई ठाउँमा सञ्चालन भइसकेका छन् भने दुई ठाउँमा निर्माणाधीन छन् । अन्य छ वटा गेट निर्माणका लागि पनि काम अगाडि बढाइसकिएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले यसअघि नै आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरिसकेको छ ।

विभागका निर्देशक श्रीकान्त यादवले सवारीसाधनमा जडान गरिएको इम्बोस्ड नम्बर प्लेटको ट्रेसिङका लागि सङ्घीय राजधानी काठमाडौँबाट बाहिरिने तथा भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा र उत्तरी नाका नागार्जुनमा उच्च यस्तो ‘गेट’ सञ्चालन भइसकेको जानकारी दिए  ।

त्यसै गरी काठमाडौँलाई तराईसँग जोड्ने छोटो सडकका रूपमा रहेको काठमाडौँ–फर्पिङ–हेटौडाखण्डको फर्पिङ र पूर्व–पश्चिम राजमार्गको बारास्थित पथलैयामा गेट निर्माण भइरहेको छ । अबको चार महिनामा तिनीहरू सञ्चालनमा आउने  छन् ।

‘गेट’ निर्माणका लागि पूर्व–पश्चिम राजमार्गको विभिन्न पाँच र पृथ्वी राजमार्गको एक स्थान पहिचान गरिएको निर्देशक यादवले जानकारी दिए । उनका अनुसार पूर्व–पश्चिम राजमार्गको इटहरी, बुटवल, कोहलपुर र अत्तरियामा गेट निर्माण गरिने छ । त्यसै गरी पृथ्वी राजमार्गको पोखरा र बिपी राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा  गेट निर्माण गरिने छ ।

गेट निर्माणका लागि यातायात व्यवस्था विभागले अमेरिकाको डेकाटुर आइटीसँग चार अर्ब ९५ करोड रुपियाँको लागतमा सम्झौतासमेत गरिसकेको छ । निर्देशक यादवले भने , “ट्राफिक तथा यातायात व्यवस्थापनका लागि विश्वभरि नै प्रचलनमा रहेका यसप्रकारको गेटमा जडान हुने उच्च सेन्सर भएको क्यामराले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट रिड गर्छ ।

त्यसै गरी यसले सवारीसाधन प्रमाणपत्र (बिलबुक) मा हुने विवरण, सवारीधनीको नाम, सवारीको इन्जिन नम्बर, चेसिस नम्बर, नागरिकता आदि  रिड गर्छ । त्यही भएर सवारीसाधनको वास्तविक धनी को हो भन्ने कुरा सजिलै थाहा हुन्छ ।” उनले नागढुङ्गा र नागार्जुनमा सञ्चालनमा आएका गेट भएर आवतजावत गर्ने इम्बोस्ड नम्बर प्लेट जडित सवारीसाधनको तथ्याङ्क यातायात व्यवस्था विभागमा नियमित आउने गरेको जानकारी समेत दिए  ।

अहिले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा मोटरसाइकलको प्रतिसेट दुई हजार पाँच सय रुपियाँ, तीनपाङ्ग्रे सवारीसाधनको दुई हजार नौ सय रुपियाँ, मझौला सवारीसाधनको तीन हजार दुई सय रुपियाँ र ठुलो सवारीसाधनको तीन हजार छ सय रुपियाँ शुल्क कायम गरिएको छ । अहिलेसम्म ८० हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *