सिन्धुलीको घर छाडेर पोखरा आइपुगेका हायू परिवार अहिले गण्डकी प्रदेशको पोखरा महानगरमा रमाइरहेका छन् । बुधबार बिहान हायू परियारलाई सम्झाएर गाउँ फर्काउन पोखरा आइपुगेको टोली साँझ खाली हात सिन्धुली फर्किएको छ । गोलन्जोर गाउँपालिका–६, बिखर कटेरीमा बस्ने १६ जना हायू परिवारका सदस्यलाई गाउँ फर्काउन वडाध्यक्ष रविनकुमार श्रेष्ठको नेतृत्वमा आफन्तसहित पोखरा आइपुगेकाृ थियाे । घर, वस्तुभाउ छाडेर पोखरा आएको परिवारकी मूली उर्मिला हायूले अब गाउँ नफर्किने अडान सुनाइन् ।
थलैमा बाँधिएको भैँसी, बाख्रा, कुखुरा खुला छाडेर सम्पर्कविहीन बनेको हायू परिवारका १६ जना र तीन जना आफन्तसहित १९ जना अहिले पोखरा–३०, गगनगौंडामा कोठा भाडामा लिएर बस्न थालेका छन् । उर्मिलाले आफूहरू सजिलोसँग बाँच्न पोखरा आएको बताउदै “हामीहरू बिरामी भयौं, ठाउँको असुविधा पनि भयो यतै काम गर्ने भनेर आएका हौँ ।”
६ जना छोरा, ६ छोरीसहितको उर्मिलाको परिवारका आधा जति सदस्य स्कुल जाने उमेरका छन् । उनका श्रीमानको यसअघि नै मृत्यु भइसकेको छ । उर्मिलाका जेठा छोरा राजु टाढा स्कुल भएको र परिवारका सदस्य बिरामी परिरहेकाले गाउँ छाडेर आएको बताए । वडाध्यक्ष श्रेष्ठसहितका आफन्तलाई राजुले केही दिन सोचेर निर्णय दिने बताए ।
शुक्रबारबाट ठुलो परिवार सम्पर्कविहीन भएपछि परिचालित भएको सुरक्षा संयन्त्रले सोमबार साँझ हायू परिवारलाई पोखरामा फेला पारेको थियो । बिखरकटेरी एकान्त ठाउँमा रहे पनि साह्रै विकट भने नभएको वडाध्यक्ष रविनकुमार श्रेष्ठको भनाइ छ । “बिजुली पुगेको छ, घरमै खानेपानीको धारा छ । बजार पनि आधा घन्टामै पुगिन्छ” उनले भने , “बस्तुभाउ, घर छाडेर, कसैलाई पत्तै नदिई किन जानुभयो, आश्चर्यमा परेका छौँ ।”
गोलन्जोर वडा ६ मा ५० घर जति हायूको बसोवास छ । वडाध्यक्ष श्रेष्ठ काम गर्ने सदस्य धेरै नभएकाले यहाँ बाच्न कठिन हुने भएकाले पनि हायू परिवारलाई फर्काउन चाहेको बताउदै भने “त्यही घरमा बस्न चाहे किन्ने व्यवस्था गरिदिन्छौं, अरु ठाउँमा बस्न चाहे पनि घर, खेतीको व्यवस्था गरिदिन्छौं फर्कनोस् भनेका छौँ केही दिनमा निर्णय दिन्छौ भन्नुभएको छ । हामी उहाँहरूलाई गाउँमै फर्काएर सहज जीवन बाँचेको हेर्न चाहन्छौँ ।”
मङ्गलबार प्रहरीले हायू परिवारका सदस्यलाई आफन्तको जिम्मा लगाएको थियो । पोखरा महानगरपालिका वडा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहवरमा ज्वाइँ धनबहादुर तामाङको जिम्मा लगाइएको थियो । धनबहादुर उर्मिलाकी छोरी कमला हायुका श्रीमान् हुन । तनहुँको बासिन्दा तामाङ पोखरा मुग्लिन सडक विस्तार आयोजनामा काम गर्छन् । उनकै आडभरोसामा हायू परिवार पोखरा आएको देखिएको छ ।
हायूहरुको रामेछाप, सिन्धुलीसहित सर्लाही, महोत्तरी, उदयपुर, काभ्रे, सिराहामा बसोवास छ । राज्यले २०६४–६५ देखि हायू जातिलाई मासिक भत्ताको समेत व्यवस्था गर्दैआएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार हायू जातिको जनसङ्ख्या तीन हजार ६९ छ । हायूको आफ्नै भाषा भए पनि वक्ताको कमि हुँदै गएकाे छ ।
