नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘भन्ने एउटा, गर्ने अर्कै’ को शृङ्खला बढेको टिप्पणी गरेका छन्। काठमाण्डाैमा एक कार्यक्रमा बोल्दै दाहालले यस्तो बताएका हुन्।
‘भन्ने एउटा, गर्ने अर्कै! भन्ने संविधान संशोधन, गर्नेचाहिँ अर्कै; अब देखिरहेकै छ। यस्तो गर्न थाल्यौँ भने र हामीले आफ्नो कमी-कमजोरीको समीक्षा गर्नेतिर लागेनौँ भने जनतालाई धेरै समय सन्तुष्ट भइदिनुपर्यो भनेर तथ्याङ्क मात्रै व्यक्त गरेर हुँदैन’ उनले भने।
पछिल्लो सरकार गठनका लागि बनेको कांग्रेस-एमाले गठबन्धनले संविधान संशोधनको मुद्दालाई मुख्य रूपमा उठाएको छ तर, अहिलेसम्म त्यसका बारेमा छलफलसमेत सुरु भएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसमझदारीअनुरूप संशोधन नहुने बताएका छन्। उनले २०८७ सालमा मात्रै संविधान संशोधन सम्भव हुने बताएका छन्। यहीतर्फ लक्षित गर्दै दाहालले एउटा भनिए पनि गर्नेचाहिँ अर्कै भएको टिप्पणी गरेका हुन्।
