शुक्लाफाँटामा घट्दाे क्रममा सुनौलो तोपचरा

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने सुनौलो तोप चरा यस वर्ष घटेका छन् । असार १९ देखि २३ गतेसम्म ५ दिन गरिएको गणनामा गत वर्षभन्दा कम संख्यामा यी चरा भेटिएका हुन् ।

विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चराको गणना नेपाल पन्छी संरक्षण संघ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले संयुक्त रूपमा गरेका हुन् । निकुञ्जका विभिन्न घाँसे मैदानमा गरिएको गणनामा १ सय १४ गुँडमा ९२ भाले, ६९ पोथी र २३ वटा भालेपोथी पहिचान हुन नसकेका गरी १ सय ८४ चरा भेटिएका छन् ।

‘गत वर्षभन्दा कम चरा भेटिएका छन्, यसमा वासस्थानदेखि आहारा व्यवस्थापनमा ध्यान दिनुपर्ने देखियो,’ निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘निकुञ्जले यसतर्फ पनि आवश्यक काम गर्नेछ ।’

नेपाल पन्छी संरक्षण संघका चराविद् हिरुलाल डगौराका अनुसार गत वर्ष गरिएको गणनामा १ सय ३० गुँडमा २ सय १३ चरा भेटिएका थिए । प्राविधिकहरूले सुनौलो तोप चरा पाइने निकुञ्जका विभिन्न घाँसे मैदानमा पुगेर प्रत्यक्ष रूपमै देखेर गणना गरेका हुन् । यसरी गरिने गणनालाई ‘अपर्चुनिस्टिक’ विधि पनि भनिन्छ ।

निकुञ्जको विशाल शुक्लाफाँटा घाँसे मैदानसँगै हरैया, अण्डैया, लालपानी, मोहनपुर, राधापुर र सुन्दरीफाँटा लगायतका घाँसे मैदानमा सुनौलो तोप चराको गणना गरिएको थियो । प्राविधिक क्यामेरा र वाइनाकुलर बोकेर आकर्षक बनाइएका यो चराका गुँडसँगै चरा र त्यसको वरिपरिको वातावारणको अनुगमनमा खटिएका थिए ।

इन्जिनियर चराका रूपमा चिनिने सुनौलो तोप चराले आकर्षक गुँड बनाउँछ । एउटै रुखमा धेरै र कतै एक/दुईवटा मात्रै गुँड पनि बनाएको देखिन्छ । यो चरा प्रायः घाँसे मैदानमै बस्ने गर्छ । विश्वमै दुर्लम मानिएको यो चरा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा शुक्लाफाँटासँगै २००७ मा कोशी टप्पु वन्यजन्तु आरक्षमा देखिएको थियो भने २०१८ मा घोडाघोडी तालमा पनि देखिएको थियो । त्यसपछि भने शुक्लाफाँटामा मात्रै रेकर्ड भएको छ ।

‘वासस्थानको उचित व्यवस्थापनको अभाव, आहाराको समस्या र विषादीको प्रयोगले यो चराको संख्या बर्सेनि घट्दै गएको छ,’ नेपाल पन्छी संरक्षण संघका चराविद् डगौराले भने, ‘गत वर्षभन्दा यो वर्ष धेरै कम देखिए ।’ उनले गुँडको संख्यामा पनि निकै कमी देखिएको बताए ।

सुनौलो तोप चराले एकै ठाउँमा दुई खालका गुँड बनाउँछ । एउटा पूर्ण र नियमित आउजाउ गर्ने । जसलाई सक्रिय गुँड भनिन्छ । अर्को अपूर्ण र कहिलेकाहीँ कागलाई झुक्याउन मात्रै आउजाउ गर्ने । जसलाई निष्क्रिय गुँड भनिन्छ । कागले बेला बेलामा अवरोधसँगै फूल फुटाइदिने र भाले पोथीलाई शान्त रूपमा बस्न नदिने भएकाले दुई खालका गुँड बनाउने डगौंरा बताउँछन् ।

अहिले सुनौलो तोप चराको प्रजननको समय पनि हो । प्रजनन अवधिमा भाले र पोथी दुवै प्रायः सँगै गुँडवरिपरि नै भेटिने भएकाले गणना सहज हुन्छ । यसको प्रजनन समय मार्चदेखि सेप्टेम्बरसम्म हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *