काठमाडौँ महानगरपालिको बजेट २५ अर्ब ७६ करोड

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ ।

महानगरका उपप्रमुख सुनिता डङ्गोलले  काठमाडौँ महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गरेकि हुन  ।

“आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट सञ्चित कोषमा भार पर्ने खर्च २५ अर्ब ११ करोड ४३ लाख ११ हजार र जग्गा एकीकरण आयोजनाहरू तथा अन्य निकायबाट प्राप्त हुने कार्यक्रमका लागि खर्च रकम ६५ करोड सञ्चित कोषमा भार नपर्ने गरी कुल  २५ अर्ब ७६ करोड ४३ लाख ११ बराबर विनियोजन गरिएको छ”, उपप्रमुख डङ्गोलले भनिन  ।

बजेटको स्रोतमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैङ्क मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख व्यहोरिने जनाइएको छ ।

यसैगरी, नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट प्राप्त हुने चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार बराबर रकमलाई पनि बजेटको स्रोतमा देखाइएको छ । आगामी आ .व का लागि राजस्व सङ्कलन प्रभावकारी बनाउन नयाँ करदाता पहिचान गर्ने, कारोबार हुने स्थलमा नै गएर समन्वय गर्ने लगायत नीति अवलम्बन गरिने जनाइएको छ ।

महानगरले आगामी पुस मसान्तसम्म करको दायरामा आउने करदाताका लागि छुटको व्यवस्था पनि ल्याएको छ । यस्तै, महानगरले उठाउने बहाल करलाई एकद्वार प्रणालीमा आबद्ध गर्न सङ्घीय सरकारसँग समन्वय गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *