सासूले छोरी नपठाएपछि ज्वाइँको क्रूर प्रतिशोध

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भोजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानी ससुरालीको चार सदस्यको चक्कु प्रहार गरी हत्या गरेका छन्। श्रीमती मनीषा गिरीलाई घर लान पाँच दिन अगाडि ससुराल आएका राईले श्रीमती लान नपाएपछि ससुरालीमा श्रीमतीसहित ससुरा, सासू, सालोको विभत्स हत्या गरेका हुन्।  उनले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी, १६ वर्षीया श्रीमती मनीषा गिरी, ९ वर्षीय सालो सयन गिरीलाई हत्या गरी आफ्नो पेटमा छुरा प्रहार गरेका थिए।

शनिबार राति ११ बजे हत्या गरी राजेन्द्र भागेर हुर्लु भञ्ज्याङ पुगेका राईले १०० मा नेपाल प्रहरीलाई फोन गरी जानकारी दिएका थिए। जिल्ला प्रहरी कार्यालय भोजपुरले खबर पाउने बित्तिकै ओख्रे प्रहरी चौकीलाई खबर गरी पक्राउ गरेको थियो। पक्राउ परेका राईलाई नजिकै रहेको ओख्रे स्वास्थ्य चौकीमा उपचार गराई थप उपचारका लागि जिल्ला अस्पताल भोजपुर ल्याएको र भोजपुरबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरी थप उपचार भइरहेको छ।

यता, घटनाको बारेमा स्वास्थ्य चौकी ओख्रेकी स्वास्थ्यकर्मी सङ्गीता राईले मृतकका आफन्तलाई, गाउँपालिकाका जनप्रतिनिधि लगायत छरछिमेकलाई जानकारी दिएकी थिइन । त्यस लगतै गाउँघरमा हल्ला गरी घरमा हेर्दा परिवारका चार जना सदस्य मृत अवस्थामा भेटिएका थिए। आइतबार बिहान स्थानीय जनप्रतिनिधि, छरछिमेकी, प्रहरी लगायतको उपस्थितिमा घटनाको बारेमा मुचुल्का बनाई मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ भने पोस्टमार्टम सोमबार बिहान हुने भएको छ। घटना के कारणले, कसरी, किन भयो घटनाको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ।

घटना घट्नुको कारण भने, पहिलो श्रीमतीले छाडेका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया मनीषालाई प्रेममा पारेर विवाह गरेका थिए। विवाह गरेको केही दिनदेखि मनीषालाई विभिन्न बहानामा मानसिक तनाव दिएपछि मनीषा घरबाट माइतमा गएर बसेकी थिएन ।

माइत आएको एक महिनासम्म श्रीमती घर नफर्किएपछि लिन करिब पाँच दिन अघि ससुराल आएका राजेन्द्रले श्रीमतीलाई घर जान सम्झाउँदै थिए। शुक्रबार दिउँसो राजेन्द्रले सानो सालोलाई लिएर नजिकैको खेल मैदानमा खेल खेल्न गएको र राति घर फर्किएका थिए। बेलुका ससुरालीमा सासू आमाले तत्काल छोरी नपठाउने सल्लाह दिएपछि राजेन्द्र रिसाएका थिए।

प्रारम्भिक बयानमा राजेन्द्रले प्रहरीलाई भने अनुसार, रातको करिब ११ बजे सासू आमाले छुरा लिएर मार्न आएको र आफूले प्रतिकार गर्दा सासू आमा, ससुरा, श्रीमती र सालोलाई क्रमशः मारेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार “छोरी मनिसाले आमा मञ्जु गिरीलाई ज्वाइँले दिएको मानसिक तनाव लगायत समस्याको बारेमा जानकारी गराएपछि आमा मञ्जु गिरीले छोरीलाई फर्काएर घर ल्याएकी थिइन्। आमाले फर्काएपछि मनीषा विगत महिनादेखि धोद्लेखानी स्थित माइती घरमै बस्दै आइकी थिइन्। ज्वाइँ लिन आउँदा जान नमानेपछि राति दुर्घटना भएको थियो।”

ज्वाइँ राजेन्द्रले प्रहार गरेको छुराबाट श्रीमती, ससुरा, सासू र सालोको घटनास्थलमै मृत्यु भएको हो। परिवारका अन्य सदस्य ठुली छोरी यशोदा गिरी, माइली छोरी यसुना गिरी र जेठो छोरा सबिन गिरी काठमाडौँ बस्दै आएको र साइली छोरी प्रेमकुमारी गिरी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छिन् ।

घटनाबारे दुःख व्यक्त गर्दै रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले पीडित परिवारलाई सहयोग गर्नुका साथै घटनाको बारेमा थप अनुसन्धान गरी अपराधीलाई कानुनी दण्ड सजाय गराउन सहयोग गर्ने प्रतिबद्धता जनाए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *