अत्याधिक गर्मिको मौसममा अनियमित बिद्युत आपूर्ति भएको भन्दै स्थानीयबासीले नेपाल बिद्युत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटको कार्यालय मंगलवार घेराऊ गरेको छ । त्रियुगा नगरपालिका– ३ भुल्केका स्थानीयबासीले तीन देखि बिद्युत नआएको भन्दै गाईघाटस्थित विद्युत प्राधिकरणको उदयपुर बितरण केन्द्रको कार्यालय घेराऊ गरेको हो । पछिल्लो समय पटक पटक विद्युत कटौती हुने, कहिले दिन भर त कहिले रात भर विद्युत नआउने समस्या भएपछि स्थानीय त्रियुगा नगरपालिका– ३ भुल्केका आक्रोशित स्थानीयबासीले विद्युत प्राधिकरण घेराऊ गरेका हुन ।
लगातार बत्ती कटौती गरेको भन्दै स्थानीयहरूले गाईघाटस्थित नेपाल विद्युत प्राधिकरण उदयपुर बितरण कार्यालयमा मङ्गलबार घेराऊ गर्दै कार्यालयको एमसिबी झारेका थिए । छिनछिनमा झ्याप्प झ्याप्प जाने र कहिलेकाहीँ दिन भरि नै नआउने गरेको भन्दै भुल्केका २ सय बढी उपभोक्ताले प्राधिकरणको वितरण केन्द्र गाईघाट घेराऊ गरेका हुन । घेराऊ गर्दा केन्द्र प्रमुख कार्यकक्षमा नदेखिएपछि स्थानीयले मिटर बक्सको एमसिबि झारेर पुरै कार्यालय भवनलाई केही बेर विद्युत बिहीन बनाएका थिए ।
एक सातादेखि गएको विद्युत अझै नियमित नभएको उनीहरूले गुनासो गरेको छ । रातको समयमा विषालु सर्पले डस्ने भय रहेको, पटक पटक बिद्युत जाने आउने हुँदा विभिन्न विद्युतीय सामाग्रीहरू जल्ने पड्कने गरेको भन्दै उनीहरूले नियमित विद्युत आपूर्ति गर्न दबाब दिने उद्देश्य सहित घेराऊ गरेको बताए ।
उनीहरूले होटल व्यवसाय गर्नेहरुको फ्रिजमा राखेका सामग्री बिग्रिएर नष्ट भएको समेत गुनासो गरे । उनीहरूले विद्युत पटक पटक कटौती हुनुको कारण र नियमित विद्युत आपूर्ति गर्नु पर्ने आफूहरूको माग रहेको जनाए । उनीहरूले आफूहरूको समस्या पटक पटक सम्बन्धित निकायसँग राखि सकेको तर सुनुवाई नभएपछि बाध्य भएर कार्यालय नै घेराऊ गर्नु परेको बताए ।
स्थानीय यदु ढकालले त्रियुगा नगरपालिका– ३ भुल्केमा नेपाली सेनाको श्री नं.१८ नम्बर बाहिनी अड्डा हातामा सामुदायिक सर्पदंश उपचार केन्द्र समेत रहेको बताउँदै विद्यत आपूर्ति सहज नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको बताए । सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केका सचिव समेत रहेका ढकालका अनुसार केही दिन अघि मात्र उदयपुरगढीका एक सर्पदंशका बिरामीको विद्युत आपूर्ति नहुँदा भुल्केबाट रिफर गरिएको तर उनको उपचार भेन्टिलेटरमा राखेर गर्दा झन्डै डेढ लाख खर्च भएको गुनासो आएपछि स्थानीय झनै आक्रोशित भएका थिए ।
विद्युत कार्यालय घेराऊ गर्न गएका र विद्युत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटको कार्यालय प्रमुख माधवप्रसाद यादव बीच कार्यकक्षमा प्रदर्शनकारीसँग छलफल भए छलफलको क्रममा तत्काल सर्पदंश उपचार केन्द्र र आसपासका क्षेत्रमा विद्युत नियमित गर्ने साथै जोगीदह, मोथियायी, हडिया लगायतको क्षेत्रमा छिट्टै विद्युत आपूर्ति सहज गर्ने सहमति भएको सर्पदंश उपचार केन्द्रकी अध्यक्ष पवित्रा गिरीले जानकारी दिए ।
उदयपुरमा गर्मी बढेसँगै विषालु सर्पहरू गोमन, बैरी करेत, हिमाली करेत, घोड करेत जस्ता सर्पहरूले मानिसलाई डस्ने गरेको छ । भुल्केमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा जिल्लाका त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र खोटाङ जिल्ला सम्मका सर्पदंशका बिरामीहरूको उपचार हुँदै आएको छ ।
विद्युत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटका प्रमुख माधवप्रसाद यादवले भने बिधुत पटक पटक कटौती हुनुमा आफूहरूको कुनै हात नहुने जानकारी दिए । उनले हावाहुरी, चट्याङको समस्याले विद्युत आपूर्ति हुने ३३ केभी लाइनमै समस्या आउने गरेको भन्दै सो समस्याले गर्दा विद्युत कटौती हुने गरेको जानकारी दिए । कार्यालय प्रमुख यादवले हावाहुरी पानीसँगै हुने क्षति र क्षति बाट विद्युतमा हुने फल्ट पत्ता लगाउन समस्या हुने गरेकाले लामो समय बिद्युत जाने, विद्युत फल्ट पत्ता लगाएर बिद्युत सञ्चालन गर्दा अन्य ठाउँमा समेत फल्ट हुने र चालु भएको बिद्युत तत्काल अवरुद्ध हुने गर्दा स्थानीयलाई विद्युत पटक पटक झयाप्प झयाप्प हुने गरेको बताए ।
कार्यालय भवनमै बिजुली नभएपछि केन्द्र प्रमुख यादव कार्यकक्षमा आएर प्रदर्शनकारीसँग छलफलमा बसेका थिए । लामो छलफलपछि दुई पक्ष बीच सहमति जुटेसँगै प्रदर्शनकारीहरू घर फर्केका थिए । छलफलमा भुल्केस्थित सर्पदंश उपचार केन्द्रमा नियमित विद्युत आपूर्ति गर्ने, बिग्रेको थाहा पाए स्थानीयले प्राधिकरणलाई खबर गर्ने र तत्काल मर्मत टोली पठाएर मर्मत गरी सुचारु गर्ने प्रतिबद्धता प्राधिकरणले जनाएपछि सहमति जुटेको हो ।
विद्युत नियमित गर्न पटक पटक आग्रह गरे पनि कार्यालयले बेवास्ता गरेकाले बाध्य भएर प्राधिकरण घेराऊ गर्न आउनु परेको स्थानीयबासी नेत्र भण्डारीले बताए । सर्पदंश उपचार केन्द्रकी अध्यक्ष पवित्रा गिरीका अनुसार सर्पले टोकेर बिरामी परेकाहरू कुनै पनि बेला उपचार गर्न आउने भएकाले २४ सै घण्टा विद्युत र जनशक्ति तैनाथ भएर राख्नुपर्ने आवश्यकता छ । तर, महिना दिनदेखि पटक पटक अवरुद्ध हुँदै आएको विद्युत पछिल्लो साता अनियमित हुँदै कहिले काहीँ घण्टौँ र दिनभर पनि नआउने हुँदा समस्या भएको जनाए ।
प्राधिकरण प्रमुख यादवले थोरै क्षमताको लाइन विस्तार गरेको ठाउँमा धेरै विद्युत प्रवाह हुँदा डिफल्ट भएर पटक पटक विद्युत अवरुद्ध हुने गरेको बताए । उनले बजारमा धेरै क्षमताको फिडर राख्नु पर्ने भए पनि गर्मीको बेला भएकाले समय व्यवस्थापन गर्न नसक्दा फिडर राख्न नभ्याइ रहेको जानकारी दिए । सर्पदंश उपचार केन्द्र लगायत भुल्केको समस्या भने गाईघाटबाट नभई जोगीदहबाट विस्तार गरिएको धेरै सानो क्षमताको लाइन नियमित विद्युत आपूर्तिमा समस्या आउने गरेको बताए ।