जेठ १५ को सुरक्षा व्यवस्था यस्तो छ

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सत्तारुढ नेकपा (एमाले) ले ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ । यसैगरी, सोही दिन राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्व राजाका समर्थकले वर्तमान व्यवस्थाविरुद्ध रत्नपार्क क्षेत्रमा जनआन्दोलन गर्ने घोषणा गरेका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार बिहीबारका लागि सुरक्षा योजना बनाएर काम अघि बढेको छ । उनले नेकपा (एमाले) ले काठमाडौँको भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, टुँडीखेल क्षेत्रमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने सम्बन्धमा जानकारी प्राप्त भएकोले सो अनुरुप सुरक्षा व्यवस्था मिलाइएको बताए  । पूर्व राजाका समर्थकको आन्दोलनबारे भने औपचारिक जानकारी प्राप्त नभएको उनको भनाइ छ ।

उनले भने , “हामी सुरक्षा योजना बनाएरै काम गरिरहेका छौं । नेपाल सरकारको औपचारिक कार्यक्रम पनि छ । नेकपा (एमाले) को सांस्कृतिक झाँकीसहितको र्‍याली भृकुटीमण्डपको वरीपरी केन्द्रीत गरेर छ । विरोधका कार्यक्रमका बारेमा औपचारिक जानकारी आएको छैन ।” सबै कार्यक्रम शान्तिपूर्णरुपमा हुने गरी तयारी अगाडि बढेको उनको भनाइ छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले काठमाडौँ उपत्यकासहित देशभरमा हुने गणतन्त्र दिवससँग सम्बन्धित कार्यक्रममा सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी प्रहरीको रहेको बताउलै विभिन्न राजनीतिक दलद्वारा बिहीबार आयोजना गरिने काठमाडौँ केन्द्रित कार्यक्रममा कुनै अप्रिय घटना हुन नदिन तथा कानुन उल्लङ्घन हुन नदिने ढङ्गबाट सुरक्षा व्यवस्थापनको तयारी हुने बताए ।

प्रवक्ता थापाले भने , “विभिन्न राजनीतिक दलहरुले पनि आ-आफ्नो कार्यक्रमबारे जानकारी दिएका  छन् । दुई पक्षबिच झडप नहुने गरी पर्याप्त सुरक्षा व्यवस्थापन मिलाइएको छ । प्रहरी प्रधान कार्यालयले सुरक्षाको लागि पर्याप्त जनशक्ति, अन्य साधन स्रोत उपलब्ध गराएको अवस्था छ ।” उनले कानुन उल्लङ्घन हुने गतिविधि भएमा तत्काल कानुनी कारवाही हुने बताए  ।

उनले भने , “कानुन उल्लङ्घन हुन नदिन, अप्रिय घटना, आगजनी लगायत कुनै किसिमको अवाञ्छनीय कार्यक्रम हुन नदिन सुरक्षाको व्यवस्था मिलाइएको छ । त्यस्ता क्रियाकलाप भएमा तत्काल कानुनी कारवाही गरिनेछ ।”

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार प्रदर्शन क्षेत्रमा कस्तो गतिविधि हुन्छ, त्यही अनुसार ट्राफिक व्यवस्थापन गरिने बताउदै उनले भने  “पुरै सडक बन्द हुने अवस्था भयो भने सवारी साधन डाइभर्ट गर्नुपर्ने हुन्छ । एक, दुई लेन चल्ने अवस्था भयो भने त्यहीबाट सवारी साधन आवागमन हुने व्यवस्था मिलाइनेछ । परिस्थिती, मुभमेन्ट, मास र त्यहाँको गतिविधि हेरेर योजना तत्काल बनाउनुपर्ने हुन्छ ।”

नेकपा (एमाले) ले झाँकीसहितको उत्सव कार्यक्रम बिहान ११ बजेदेखि र पूर्व राजाका समर्थकले बिहान ९ बजेदेखि प्रदर्शन गर्ने बताएको छ ।काठमाडौँ जिल्ला प्रहरीपरिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीले काठमाडौँ केन्द्रीत हुने कार्यक्रममा पर्याप्त सुरक्षा व्यवस्था मिलाएको बताए  ।

प्रमुख अधिकारीले भने , “हाम्रो पर्याप्त तयारी छ । सबै प्रकारका एकीकृत सुरक्षा योजना छ । त्यो अनुसार बिहानको समारोहदेखि व्यवस्थापन लगायत पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *