महोत्तरीको बर्दीबासमा दस हजार वर्षअघिका हतियार फेला परे

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

महोत्तरीको बर्दीबासमा फेलापरेका १० हजार वर्ष पुराना हतियार पाइएको क्षेत्रमा पुरातात्त्विक अध्ययन सुरु गरिएको छ । पुरातत्व विभागका विज्ञको टोलीले शनिबारदेखि बर्दीबास नगरपालिका–३ स्थित पाटु, राई मण्डल क्षेत्रमा पुरातात्त्विक अध्ययन थालेको बर्दीबास नगरपालिकाका संस्कृति तथा पर्यटन प्रवर्धन समितिका सदस्य सचिव दिपेश काफ्लेले जानकारी दिए  ।

प्राचीन मानव इतिहासमा प्रयोग भएका ढुङ्गे औजार सो क्षेत्रमा रहेको तथ्य फेलापरेसँगै उक्तक्षेत्रको महत्वलाई थप उजागर गर्न नगरपालिकाले अनुसन्धान सुरु गरेको काफ्लेले बताउदै  बर्दीबासमा पुरातात्त्विक पर्यटन प्रवर्धन गर्ने र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले पुरातत्वविद् भास्कर ज्ञवाली र भारतको आसामबाट प्रा.डा मन्जित हजारियाको नेतृत्वको टोलीलाई अध्ययन गर्न नगरपालिकाले समन्वय गरिरहेको जानकारी दिए  ।

जर्मनीका अनुसन्धानकर्ता गुडन कार्विन्सले सन् १९८० को दशकमा तराईका विभिन्न भू भागमा मानव सभ्यताको अध्ययन गरी सन् २००७ मा ‘प्री हिस्टोरिक कल्चर्स इन नेपाल’ नामक किताब प्रकाशन गरेर महोत्तरीको पाटु राई मण्डल क्षेत्रलाई मध्यपाषण युगमा हतियार निर्माण हुने स्थल भनेर चिनाएका थिए ।  कार्विन्सले उक्त किताबको भाग १, पृष्ठ २३९ मा अहिलेको राई मण्डल अर्थात् पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेका छन् ।

रातोमाटोले पुरिएको अवस्थामा हजारौँ मध्यपाषण युगका हतियार भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा उल्लेख गरेका छन्  । मध्यपाषण १० देखि १२ हजार वर्षअघिको अवधि र ६ देखि १०  हजार वर्षअघिको नवपाषणको अवधिलाई जनाउछ । गुडन कार्विन्सले गरेको अध्ययन अनुसार यो ठाउँ १० हजार वर्षअघिको मध्यपाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ ।

कर्विन्सले राई मन्डल आसपास र पाटुमा नै आएर किन अध्ययन गरे  होलान् भन्ने विषय अझै रहस्यमय छ तर विख्यात भूगर्भविद् कर्विन्सले गरेको अध्ययन पछि सोही ठाउँमा पत्ता लगाइएको मध्यपाषण युगको हतियार यतिबेला आममानिसको चासोको विषय बनेको छ ।

कर्विन्सले उक्त पुस्तकमा रातु नदीसँगै जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार वर्ष पहिले अर्थात् मध्यपाषण युगमा मान्छेको बाक्लो चहलपहल रहेको उल्लेख गरेका छन्  । पुरातात्विक अध्ययन टोलीका पुरातत्वविद् भास्कर ज्ञवालीले बर्दीबास–३ स्थित पाटु, रातु र राई मण्डल क्षेत्रमा मध्यपाषण युगका ढुङ्गे औजार सङ्कलन तथा अध्ययन गरिरहेको बताउँदै भने , “अबको करिब १० दिन सो क्षेत्र र प्राप्त औजारको अवलोकन, अध्ययन र अनुसन्धान गरिने छ । धेरै अनुसन्धानकर्ताले उक्त क्षेत्रको अध्ययन अनुसन्धान गरी प्रतिवेदन, किताब प्रकाशन गरिसकेका र उक्त क्षेत्रका ढुङ्गे औजार पुरातत्व विभागको प्रदर्शनीमा समेत राखिएकाले उक्त क्षेत्रको थप विस्तृत अध्ययन थालिएको हो ।”

मध्यपाषण युग १० देखि १२ हजार वर्ष पहिलाको मानिन्छ । अहिलेको पाटुगाउँ विसं २०२० को दशकमा बस्ती बसेको थियो । कर्विन्सले तथ्यसहित १० हजार वर्ष पुरानो मानव सभ्यता भएको उजागार गरेपछि स्थानीयसमेत अचम्मित बनेका थिए  । स्थानीय रमेश पौडेलले भन्छन, “बन्चरो जस्ता तथा धारिला अनौठा ढुङ्गा जङ्गल जाँदा भेटिन्थ्यो । सञ्चारमाध्यमबाट पाटुमा १० हजार वर्ष पुरानो सभ्यता भएको थाहा पाएपछि हामीले त्यस्ता आकृतिका ढुङ्गाको खोजी गरिरहेका छौँ । यो भूमि पुरातात्त्विक पर्यटनका हिसाबले उर्वर रहेछ ।”

पुरातात्त्विक दृष्टिले निकै रहस्यमय भएको यस ठाउँमा उद्योग वाणिज्य सङ्घ बर्दीबासले चासो देखाएको छ । पुरातात्त्विक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सङ्घका अध्यक्ष विष्णु खड्काको नेतृत्वमा तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीलाई प्रतिवेदन समेत बुझाइएको थियो । त्यसपछि सङ्घीय सरकार र प्रदेश सरकारले झन्डै ४६ लाख रुपियाँ बजेट विनियोजन गरेका छन् ।

बर्दीबासमा देखिएको चासोले यो ठाउँ विश्वकै पुरातात्त्विक पर्यटन केन्द्र बन्न सक्ने महत्वपूर्ण आधार देखिएको छ पुरातत्वविद् प्रकाश दर्नालले भने , “सङ्घ र प्रदेशले उक्त ठाउँको विकासका लागि बजेट विनियोजन गरेको खबर सुनेको छु ।  गुरुयोजना बनाएर काम गर्नु पर्छ ।”

कर्विन्सले पत्ता लगाएको उक्त अवशेषलाई अहिले राष्ट्रिय सङ्ग्रहालयमा राखिएको छ । किताबमा रातो माटोमुनि हजारौँ, करोडौँ सङ्ख्यामा ३० देखि ५० सेन्टिमिटर पुरिएको अवस्थामा ती हतियार रहेको उल्लेख गरिएको छ । कर्विन्सले पत्ता लगाएको मध्यपाषण युगको हतियारको राजधानी, सर्पहरूको राजधानी, विसं १२१८ को शक्तिशाली भूकम्पका विषयमा समेत थुप्रै रहस्य उल्लेख छन्

भूकम्पले बनाएको पहाड

नेपालमा गएका भूकम्पको इतिहास केलाउँदा विसं १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । असार शुक्ल तृतीया तिथि सोमबारका दिन करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । इतिहासकारका अनुसार तत्कालीन समयमा समथर र केही माथि उठेका चुरे पहाड झन् चुलिएको बताइन्छ । भूकम्पको प्रभावकै कारण सबैभन्दा ठुलो पहाड बनेको पनि पाटुको उपल्लो क्षेत्र अर्थात् राई मण्डलको वरपर नै रहेको बताइन्छ ।

भूगर्भविद् सोमनाथ सापकोटाका अनुसार विद्यावारिधिका विद्यार्थीले पाटुमा थुप्रै अध्ययन र अनुसन्धान  गरेका छन् । कर्विन्सले फेलापारेको मध्यपाषण युगको सभ्यतासँगै देखिएको ऐतिहासिक चुरे पहाडलाई एकीकृत पुरातात्त्विक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सापकोटा बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *