‘मोर्फिनको अत्यधिक प्रयोगले बिरामीको मृत्यु समेत हुनसक्छ’

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

स्वास्थ्य सेवाका विभिन्न तत्त्वमध्ये औषधी पनि एक हो । औषधी विभिन्न रसायन मिलेर बनेको हुन्छ । यदि औषधीको सही प्रयोग गरियो भने गम्भीर बिरामीको पनि जीवन बचाएर सामान्य अवस्थामा फर्काउन सकिन्छ भने यदि औषधीको मात्रा गलत पर्न गएमा सामान्य मानिसहरू पनि विभिन्न रोगको सिकार हुन्छन् । औषधी बिरामीलाई चाहिनेभन्दा कम दिइयो भने यसले रोगविरुद्ध काम गर्दैन । यदि औषधी गलत पर्न गएमा वा बढी डोज दिएमा बिरामीलाई दीर्घरोगी वा अपाङ्गता बनाउनुका साथै मृत्यु समेत हुने गर्छ ।

नेपालमा औषधीको ओभरडोजका कारण बिरामीले अकालमा मृत्युवरण गरेका थुप्रै उदाहरण छन् । यस्तै एक उदाहरण हुन, इनरुवाकी विमला थापा पोखरेल । गत माघमा औषधीको ओभरडोजका कारणले उनले अकालमा मृत्युवरण गर्नुपरेको थियो ।

के थियो घटना

गत माघ १० गते इनरुवाकी विमला थापा पोखरेल सामान्य श्वासप्रश्वासको समस्या देखिएकाले विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पुगीन् ।

सामान्य परीक्षण गर्न गएकी उनकाे  अस्पतालले फोक्सोमा दीर्घकालीन रोग सिओपिडी र रक्तअल्पताको समस्या भएको भन्दै अस्पतालमा भर्ना गर्याे  फोक्सो तथा श्वासप्रश्वास विशेषज्ञ डा.रामहरि घिमिरेको रेखदेखमा उनको उपचार सुरु भयो । एक साताको उपचारपश्चात निको भएकाले डा.घिमिरेले डिस्चार्ज गर्न सुझाव दिए  । तर त्यही दिन उक्त मेडिकल कलेजमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल अनुगमनमा आउने भएपछि उनलाई अस्पतालले डिस्चार्ज दिन मानेन् ।

सोही दिन विमलाको ढाड दुख्र थाल्यो । श्रीमान् महेश्वरका अनुसार विमलाको ढाड दुःखाइको समस्या २०/२५ वर्षदेखिको हो । उनले चिकित्सकको सल्लाह बमोजिम औषधी सेवन गरिरहेकी थिइन  ।

भोलिपल्ट डा.घिमिरे राउन्डमा आउँदा विमलाले आफ्नो ढाडको समस्या पुनः बल्झिएको सुनाइन  । सोही अनुसार डा.घिमिरेले ढाडको तल्लो भागको दुःखाइ निको हुने भन्दै ‘मोर्फिन’ नामक औषधी लेखिदिए  ।

विमलाले उक्त औषधी खाइसकेपछि उहाँको श्वासप्रश्वासमा एक्कासी समस्या देखिएर आइसियूमा लगियो । आइसियूमा केही समयको उपचारपछि अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।

निको भएर घर जाने क्रममा चिकित्सकले मोर्फिनको ओभरडोज दिएर विमलाको मृत्यु भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग परिवारले गरेका छन् । मृतका परिवारका अनुसार बिरामीलाई मृत्यु हुने अघिल्लो दिन पटक–पटक गरेर ५० एमजीका दरले १५० एमजी मोर्फिन औषधी सेवन गराइएको थियो ।

फर्माकोलोजिस्ट डा.प्रविन प्रसादले सिओपिडीको समस्या भएको बेलामा वा श्वास लिन कठिनाइ भएका बेला मोर्फिन प्रिस्काइब गर्न नमिल्ने बताउछन् ।

उनका अनुसार , “मोर्फिन हाइलेबल पेन किलर हो । अरू कुनै पेन किलरले काम गरेन भने मात्र यो औषधी प्रिस्काइब गर्नुपर्छ । यदि श्वाप्रश्वासको समस्या छ, मोर्फिनको एलर्जी छ, कम रक्तचाप भएका बेला, गम्भीर खालका फोक्सो, मिर्गौलाका बिरामीलाई यस्तो औषधी प्रिस्काइब गर्न मिल्दैन ।”

मोर्फिन औषधीको कति मात्र दिने भनेर चिकित्सकले निर्धारण गर्न नसकेमा बिरामीको श्वासनली बन्द भई मृत्यु हुने नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देव बताउछन्  । यदि आवश्यकभन्दा बढी मोर्फिन औषधी दिएमा रेस्पेरेटरी प्यारालाइसेस हुनेदेखि बिरामीको श्वासनली बन्द भई मृत्यु समेत हुने गर्छ ।

मोर्फिन कस्तो औषधी हो ?

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.देवका अनुसार मोर्फिनलाई लागुऔषधका रूपमा वर्गीकरण गरिएको छ । मोर्फिन एक शक्तिशाली ओपियोइड औषधी हो, जुन कडा खालको दुःखाइ कम गर्न प्रयोग गरिन्छ । उनका अनुसार यसको प्रयोगले दुःखाइ कम गर्नुका साथै मानसिक प्रभाव पर्ने हुँदा यो औषधीको अत्यधिक प्रयोगले लत लाग्ने सम्भावना अत्यधिक हुने हुँदा मोर्फिनलाई नार्कोटिक अर्थात् लागु औषधका रूपमा वर्गीकरण गरिएको हो ।

मोर्फिन सिफारिस गर्दा के कुरामा ध्यान दिने

डा.सतिसका अनुसार यो औषधीलाई चिकित्सकले उचित कारण सहित सिफारिस गर्नुपर्छ ।  प्रिस्काइब गर्दा अनिवार्य रूपमा रेकर्ड राख्ने, बच्चा, वृद्धवृद्धा र गम्भीर बिरामीलाई विशेष निगरानीमा मात्र सिफारिस गर्नुपर्छ ।

मोर्फिन कस्तो अवस्थामा प्रयोग गरिन्छ ?

उनका अनुसार चिकित्सकले मोर्फिन दुःखाइ कम गर्न प्रयोग गर्छन् । फर्माकोलोजिस्ट डा.प्रविन प्रसादले मोर्फिनको प्रयोग विशेषगरी, सर्जरीपछि हुने तीव्र दुःखाइमा, क्यान्सरका बिरामीमा हुने दीर्घकालीन दुःखाइमा, गम्भीर चोटपटक (जस्तै हड्डी, भाँचिएको अवस्थामा) र्मोफिनको प्रयोग गरिने जानकारी दिए  । त्यसैगरी, हृदयाघातको बेलामा हुने दुःखाइमा, पालियेटिभ केयरमा (जीवनको अन्तिम चरणमा दुःखाइ व्यवस्थापनका लागि) मोर्फिनको प्रयोग गरिने उनको भनाइ छ ।

मोर्फिन कस्ता अवस्थामा प्रिस्काइब नगर्ने

श्वासप्रश्वासमा समस्या भएका बिरामी (जस्तै सिओपिडीको समस्या भएको बेलामा वा श्वास लिन कठिनाइ भएकोलाई) प्रिस्काइब गर्नुहुँदैन । त्यसैगरी, गम्भीर कलेजो, फोक्सो वा मिर्गौलाको समस्या भएका बिरामीलाई मोर्फिन सिफारिस गर्नुहुँदैन । कब्जियत भएका, मस्तिष्कमा चोट, रगत जमेको वा प्रेसर भएको बिरामीलाई मोर्फिन सिफारिस गर्नुहुँदैन । यदि कसैलाई मोर्फिन औषधीको एलर्जी छ भने पनि यस्ता व्यक्तिलाई मोर्फिन दिनुहुँदैन ।

मोर्फिनको बढी प्रयोग भएमा के हुन्छ ?

मोर्फिनको डोज मानिस अनुसार फरक–फरक हुने चिकित्सक बताउँछन् । यदि आवश्यकभन्दा बढी औषधी दिएमा रेस्पेरेटरी प्यारालाइसेस गर्ने चिकित्सकको भनाइ छ । मोर्फिनले श्वासप्रश्वासमा अवरोध पुर्‍याउने खतरा हुने हुँदा बिरामीलाई यसको डोज निर्धारण गर्दा सतर्कता अपनाउनु पर्छ । औषधी कति मात्र दिने भनेर चिकित्सकले निर्धारण गर्न नसकेमा बिरामीको श्वासनली बन्द भई मृत्यु समेत हुने चिकित्सक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *