भारतको नेसनल ग्यालरी अफ मोर्डन आर्टको आयोजनामा ‘भिजन २०४७ : विकसित भारत’ शीर्षकमा दुई हजार बढी चित्रकारले क्यानभास पेन्टिङ बनाएका छन् । नयाँ दिल्लीस्थित पुरानो किलामा आयोजना गरिएको एकदिने आर्ट क्याम्पमा कपिलवस्तुकी सञ्चिता अग्रहरिले करिब चार घण्टा लगाएर भारतको आर्थिक प्रगतिको चित्रण क्यानभासमा उतारेकि थिइन । साे चित्र उत्कृष्ट १५ मा पर्न सफल भएको छ । भारतको राष्ट्रपति भवनमा चलेको प्रदर्शनीमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले अवलोकन गरेकि थिइन ।
“मैले भारतको विश्वव्यापी आर्थिक विस्तारलाई चित्रमा उतारेकी हुँ,” सञ्चिताले भनिन , “रुपियाँको प्रतीकले वित्तीय शक्ति, बुलले मजबुत अर्थतन्त्र, अशोक चक्रले लोकतन्त्र र स्थिर प्रगति तथा सेतो छिटाले द्रुत गतिमा भइरहेको विकासलाई देखाउँछ ।” राष्ट्रपति मुर्मूले तस्बिरको भावले भारतको आर्थिक विकासलाई प्रदर्शन गर्ने बुझाइका साथ चासो दिएर अवलोकन गरेकि थिइन । ।
कपिलवस्तु नगरपालिका–२ की २५ वर्षीय सञ्चितालाई पेन्टिङमा सानैदेखि रुचि थियो । उनले विद्यालयमा चित्र बनाएर पुरस्कार जित्थिन । त्यसैको प्रेरणाले प्रोट्रेट, ल्यान्डस्केप, हिस्टोरिकल र आयल पेन्टमा विभिन्न सिर्जना गरिन । उनले स्नातक तहको अध्ययन पूरा गरेपछि अवधी लोककलाका चित्र बनाइन ।
चित्रकलाप्रतिको रुचि पूरा गर्न उनले भारतको दिल्लीस्थित ‘दिल्ली कलेज अफ आर्ट’ लाई रोजिन । तीन वर्षदेखि उनि ‘फाइन आर्ट’ विधामा स्नातक गर्दै छिन् । अध्ययनको क्रममा उनि पहिलो वर्षको परीक्षामा कलेजमा उत्कृष्ट विद्यार्थी बनिन भने हालसम्म उनिले ५० भन्दा बढी आयल पेन्टिङ बनाइसकेकि छिन ।