जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु जारी गरेको छ। हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ६:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार विहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।
उनका अनुसार पूर्वमा वीरगन्ज-१५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज-२५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज-१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज-१६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको हो।
वीरगन्जमा तोडफोड र आगजनी (फोटो फिचर)
हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको छ। शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको हो।
झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेका छन्। आक्रोशित भीडले छपकैयास्थित श्रीराम हल अगाडिको आधा दर्जन बिरयानी हाउसमा तोडफोड र आगजनी गरेका छन्।
त्यस्तै दर्जनभन्दा बढी मोटरसाइकलमा पनि आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ। प्रदर्शनका क्रममा कम्तीमा ८ जना घाइते भएका छन्। शोभायात्रामा हुलदंगा भएपछि समर्थकहरूले पनि विर्ता चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
