कन्चनपुर, महेन्द्रनगरकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकमा पाटेबाघको संख्या ४३ पुगेको छ । जसमा २१ वटा भाले र १९ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४३ पुगेको निकुञ्ज कार्यालयले जनाएकाे छ ।
निकुञ्जले नेपाल सरकारले जारी गरेको बाघ तथा आहारा प्रजातिको अनुगमन प्रोटोकलमा आधारित रहेर २०८१ कार्तिक देखि पुस १० गतेसम्म बाघको आन्तरिक अनुगमन गरेको थियो । यस अघि सन् २०२२ मा भएको राष्ट्रिय गणनामा बाघको संख्या ३६ देखिएको थियो । अब सन् २०२६ मा राष्ट्रिय गणना हुने निकुञ्ज कार्यालयले जानकारी गराएकाे छ ।
विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि उपयुक्त बासस्थान मानिएको छ । तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा पर्याप्त आहारा, बासस्थानकोे उचित व्यवस्थापनले बाघको संख्या बढ्दै गएको निकुञ्जले जानकारि गराएकाे छ ।
निकुञ्जमा सन् २०१३ मा १७ वटा बाघ रहेकोमा २०१८ मा १६, २०२१ मा १९, २०२२ मा ३६, २०२३ मा ३३ र २०२४ मा ४४ थियो ।
