चट्याङ लागेर २४ घण्टामै आठको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चट्याङ लागेर २४ घण्टामै आठजनाको ज्यान गएको छ । मौसममा आएको फेरबदलसँगै बुधबार र बिहीबार बिहान परेको चट्याङले सुदूरपश्चिममा तीन, कोशी र लुम्बिनीमा दुई–दुई र मधेशमा एकजनाको मृत्यु भएको हो ।

सुदूरपश्चिममा बाजुराको बुढीगंगा नगरपालिका– १, तल्लोकुटीकी बिरु सार्कीका नौमहिने छोरा दृष्टि, डोटीको सायल गाउँपालिका– ६ की ३३ वर्षीया कमला नागरी र बझाङको बित्थडचिर गाउँपालिका– ३ की ७८ वर्षीया धौली बोहराको मृत्यु भएको छ । उनीहरूको बुधबार राति मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए ।

कोशीमा झापाको गौरादह नगरपालिका– ५ मा ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पाँचथर मिक्लाजुङ घर भई गौरादह बस्ने लावतीलाई बुधबार घरमै खाजा खाने क्रममा चट्याङ लागेको हो ।

मोरङको कानेपोखरी गाउँपालिका– १, होक्लाबारी मामाघर गएका सुनसरीको इटहरी उपमहानगरपालिकाका १२ वर्षीय आविष्कार बरालको पनि चट्याङमा परेर बुधबारै ज्यान गएको छ । घाइते अवस्थामा विराट टिचिङ अस्पताल पुर्‍याइएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनायो ।

त्यस्तै, लुम्बिनीमा अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका– १०, लिसेपानीका ७२ वर्षीय यमबहादुर घर्ती र रोल्पाको सुनीलस्मृति गाउँपालिका– ५ की १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको छ । बिहीबार बिहान चट्याङ लागेर घाइते भएका यमबहादुरको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा दिउँसो ज्यान गएको र धनमायाको बुधबार राति नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जनार्दन जिसीले बताए ।

मधेशमा धनुषाको नगराइन नगरपालिका– ८ की ६० वर्षीया बेचनदेवी पासवानको मृत्यु भएको छ । बुधबार बिहान घरनजिकै आँपको बगैँचामा गएकी उनको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ लागेर दुई दिनमा देशभर ११ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा देशका अधिकांश ठाउँमा चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स त्यस्तै, आगामी केही दिन पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार आगामी तीन दिनमा विगत २४ घण्टाको जति वर्षा नभए पनि सुक्खा भने हुनेछैन । पछिल्लोे २४ घण्टामा देशभर हल्कादेखि मध्यमसम्मको वर्षा भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *