रौतहटको गरुडा नगरपालिका शिवनगरका जोखन मलिकले परम्परागत लोकबाजा ‘नरसिङ्गा’ बजाउँदै आएको ३५ वर्ष भयो। डोम समुदायका नागरिकले मात्र सामूहिक रूपमा बजाउने उक्त बाजालाई स्थानीय भाषामा धुत्तुरी भनिन्छ। नेपाली पञ्चेबाजाको समूह भित्र पर्ने ती बाजा मुखले फुकेर बजाइन्छ। अहिले तराई मधेशमा धुत्तुरी बाजा र बाजा बजाउने सीप भएका डोम समुदायका नागरिक बिरलै भेटिन्छन्।
नरसिङ््गावादक जोखनसँग त्यस्ता बाजा बजाउन सिप भएका पाँच जनाको समूह छ। उनि भन्छन, “हाम्रा पूर्खाले बजाउँदै आएका धुत्तुरी बाजा अहिले हामी पनि बजाउँदै छौँ। १५–२० वर्ष अघिसम्म विवाह, व्रतबन्ध, पूजाआजा तथा विभिन्न उत्सवमा बाजा बजाउनकै लागि बाक्लै बोलाउँथे। बढ्दो आधुनिकता र सहरीकरणले अहिले डिजेको जमाना आयो। हाम्रो बाजाको महत्त्व कम हुँदै गयो र लोप हुन अवस्थामा पुग्यो।” रोजी रोटीमा निकै ठुलो भरथेग पुर्याएको उक्त पेशा अहिले सङ्कटमा परेको अर्का धुत्तुरीवादक लटिन मलिकको गुनासो छ। धुत्तुरी बजाए बापत दैनिक पाँच हजार रुपियाँ र धानचामल लिने गरेको उनीहरू बताउँछन्।
डोम समुदायका मानिसलाई कथित उपल्लो जातिका मानिसले विवाह, व्रतबन्ध तथा पूजाआजामा उक्त बाजा बजाउन लगाई शुभ साइत गर्ने गर्छन्। तर पनि समाजमा कतै कतै जातीय छुवाछुतको भावना भने कायमै रहेको पाइन्छ । यता शिव मन्दिर शिवनगरका मठाधीश लालबाबु गिरी भन्छन, ‘डोम समुदायका नागरिकले बजाउँदै आएका ती बाजाबाट निस्किएको धुन शुभ मानिने भएकोले त्यसको धार्मिक मान्यता समेत रहेको छ। तर आधुनिकताको प्रभावले व्यस्त जीवनशैली र मनोरञ्जनका अत्याधुनिक साधनको प्रयोग बढ्दा डोम जातिले बजाउने त्यस्ता परम्परागत बाजा रौतहटमा लोप नै हुने अवस्थामा पुगेको छ।’