राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार चितवनको भरपुरस्थित गेष्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत गत राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’को शुभारम्भ गरिएको हो ।
रास्वपाले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र गलत नीति तथा गतिविधिहरू विरुद्धको लडाइँमा आवाज अझ बुलन्द गर्ने बेला आएको जनाएको छ । ‘सत्तामा बसेकाहरूलाई तिमीहरूको अत्याचार अति भयो नसच्चिने भए सक्किन तयार बस भनेर शंखनाद गर्ने बेला आएको छ । गाउँ गाउँमा जाने बेला आएको छ । बस्ती बस्तीमा पुग्ने बेला आएको छ’, रास्वपाको भनाइ छ ।
कार्यक्रमको शुभारम्भ सभापति रवि लामिछानेसहितका नेताहरूको उपस्थितिमा हुने भनिएपनि त्यसअघि नै उनी शुक्रबार पक्राउ परेका थिए । सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार उनी पक्राउ परेपनि जनयत्रालाई जारी राख्ने गएराति बसेको रास्वपा केन्द्रीय सचिवालयको निर्णय गरेको थियो ।