राजा र राजावादी विचार बोक्नेहरूलाई बदनाम गर्न गणतन्त्रवादीहरूले अनेक भ्रम फिजाइरहेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले विचार मिल्नेहरूबीच एकतामा जोड दिएका छन् ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी विचार बोक्ने शक्तिहरूबीच एकतामा जोड दिएका छन् ।
सरकार र गणतन्त्रवादी दलहरूले राजा र राजावादी विचार बोक्नेहरूविरुद्ध अनेक भ्रम फैलाएर कमजोर बनाउने प्रयास गरिरहेको भन्दै थापाले एकतामा जोड दिएका हुन् ।
तीनकुने घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका उनले प्रहरी हिरासतमा अनुसन्धानमा रहेका राप्रपा नेताहरू रवीन्द्र मिश्र र धवलशमसेर राणा लगायतका व्यक्तिलाई थुनामुक्त गर्न आग्रह गरे ।
राजसंस्थासहित हिन्दूराष्ट्रको मान्यताको मुद्दा बोक्ने राजावादीहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको भन्दै उनले गणतन्त्रवादीहरूले राजालाई बदनाम गरी झुटा आरोप लगाइरहेकाले प्रतिरक्षाका लागि पनि एकठाउँमा उभिनुपर्ने तर्क गरे ।
‘म देशभरका राष्ट्रवादी साथीहरूलाई आग्रह गर्न चाहन्छु– अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दूराष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाप्त पार्ने प्रयास भइरहेको छ,’ थापाले भने, ‘त्यसबाट सजग भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित्त सबै राष्ट्रवादीहरू एकठाउँमा उभिनुकोे विकल्प छैन ।’
सानातिना मतभेद र व्यक्तिगत स्वार्थको कारण अलग देखिएका राजावादीहरू एक ठाउँमा आएर आफ्नो आस्थाको प्रतिरक्षा नगरे भविश्यमा पछुताउनुपर्ने थापाको भनाइ छ । उनले गणतन्त्रवादीहरूले चाहे अनुसार भए पद र दल मात्र नभई वैचारिक अस्तित्व नै संकटमा पर्ने दावी गरे ।
‘हाम्रो विचारलाई, राजालाई बदनाम गर्न खोजिरहेका छन् । हिन्दूराष्ट्रको मान्यता र राजसंस्थालाई भ्रमपूर्ण ढंगबाट कमजोर बनाउन खोजिरहेका छन् । यदि उनीहरूले चाहे अनुसार भयो भने हाम्रो पद र दल मात्र होइन हाम्रो वैचारिक अस्तित्व नै संकटमा पर्छ,’ उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डेले पनि विचार मिल्ने सबै शक्ति एकैठाउँमा आएर आन्दोलनमा जानुपर्ने धारणा राखे ।