ग्लोबल आईएमई बैंक लिमिटेडविरुद्ध सीआईबी मा उजुरी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

ग्लोबल आईएमई बैंक लिमिटेडविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दर्ता भएको छ। बैंकले ऋणीसँगको मिलेमतोमा ग्राहकको निक्षेप दुरुपयोग गरेको भन्दै बैंककै एक शेयरधनीले निष्पक्ष छानबिनको माग गर्दै उजुरी दिएका छन्।

बैंकले दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा.लि.लाई नियमविपरीत ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको र उक्त रकम जोखिममा परेको भन्दै यसबारे तत्काल अनुसन्धान हुनुपर्ने माग उजुरीमा उल्लेख गरिएको छ। बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र तत्कालीन सीईओ रत्नराज बज्राचार्यको संलग्नतामा एनबी समूहको विवादित कम्पनीलाई नियमविपरीत कर्जा दिइएको भन्दै सो कर्जा डुब्ने अवस्थामा पुगेको उजुरीमा उल्लेख छ।

 कर्जा प्रवाहमा अनियमितता घटनाक्रम

उजुरीमा उल्लेख भएअनुसार, विवादित ‘डी एन एस इन्भेष्टमेन्ट प्रा.लि.’ ले साबिकको नेपाल क्रेडिट एण्ड कमर्श बैंक (हाल मर्जर भई कुमारी बैंक) बाट नियतवश कर्जा लिन कम्पनी दर्ता गराएको थियो। २०६८ साल जेठमा दर्ता गरिएको उक्त कम्पनीले केही दिनमै १२ करोड रुपैयाँ कर्जा माग गर्दै निवेदन दिएको थियो। असार १२ गते कम्पनीले १ करोड १७ लाख रुपैयाँमा खरिद गरेको जग्गालाई अत्यधिक मूल्यांकन गरी १६ करोड ७४ लाख रुपैयाँ देखाएर बैंकमा धितो राखिएको थियो।

त्यसपछि सोही धितो देखाएर ३ करोड रुपैयाँको डिमाण्ड लोन लिइयो र केही समयमै ४ करोड रुपैयाँ थप कर्जा प्रवाह गरियो। तर, लिएको ऋण तोकिएको प्रयोजनमा नखर्ची दुरुपयोगगरि साँवा तथा ब्याज भुक्तानी नगरिएको उल्लेख छ।

त्यसपछि, २०८१ साल बैशाखमा सोही जग्गा ११ करोड ६४ लाख रुपैयाँमा डी एन एस इन्भेष्टमेन्ट प्रा.लि. को नाममा नामसारी गरिएको थियो। एक महिनापछि जेठ १७ गते उक्त जग्गा आफ्नै समूहको दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा.लि. को नाममा नामसारी गरी ग्लोबल आईएमई बैंकबाट ८ करोड रुपैयाँ कर्जा लिइयो। बैंकिङ कसुर गर्दै उक्त रकम दुरुपयोग गरिएको भन्दै यस घटनामा संलग्नहरूमाथि अनुसन्धान गरी कानूनी कारबाही गर्न माग गरिएको छ।

बैंकको भूमिका शंकास्पद

ग्लोबल आईएमई बैंकबाट ८ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको कम्पनीको चुक्ता पूँजी जम्मा २५ लाख मात्र रहेको र पछि १५ करोड कायम गरिए पनि कुनै बैंकिङ् कारोबार नभएको उजुरीमा उल्लेख गरिएको छ। सुनियोजित रूपमा कर्जा लिएर बैंक ठगी गर्न खोजिएको आरोप उजुरीमा उल्लेख छ।

सीआईबीका एसएसपी होविन्द्र वोगटीका अनुसार, निवेदन दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको छ। बैंकका हालका सीईओ सुरेन्द्र कुमार रेग्मीले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *