हिंसात्मक आन्दोलन भड्काएको आरोपमा सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको छ। दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि छानबिन गरेर यो कदम चाल्ने तयारी भएको हो। ‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको छ। छानबिनपछि विदेश भाग्ने आशंकाले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको छ,’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने।
दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न, ज्ञानेन्द्रलाई देशबाहिर जान रोक लगाउन र उनले पाउँदै आएको सुविधा खोस्न मन्त्रीहरूले प्रस्ताव गरेका छन्। सरकारले यो निर्णय लिने तयारी गरेको छ। शुक्रबार रातिको मन्त्रिपरिषद् बैठकमा हिंसात्मक र आपराधिक गतिविधिबारे गम्भीर छलफल भएको थियो।
शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन थालेको छ। व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको आपत्ति नभए पनि तोडफोड र दुई जनाको ज्यान जाने हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर हुन निर्देशन दिएका थिए।
ज्ञानेन्द्रलाई तेस्रो पटक श्रीपेच लगाउने अभियानमा लागेको समूह अराजक बनेको छ। सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन उग्र हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ। अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौँ घाइते भएका छन्। अर्बौँको निजी सम्पत्ति नष्ट भएको छ। भिडले लगाएको आगोमा जलेर सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको छ। रजककाे मृत्यु अगाडि उध्दार गर्न एभिन्युजका अध्यक्ष भाष्करराज कणिकारले गरेकाे अनुराेध मा प्रहरि प्रमुखहरू तथा सिडियाेले कुनै सहयाेग नगरेकाे बताइएकाे घटना सार्वजनिक भैसकेकाे छ । यस्तै झडपमा सविन महर्जन गोली लागेर मृत्यु भएकाे छ।