तीनकुने घटना: ८८ घाइते, दुईको मृत्यु, ५१ पक्राउ

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य
राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म ५१ जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको हो। एसपी बोहोराका अनुसार प्रदर्शनका क्रममा ५३ जना प्रहरी घाइते भएका छन्। तीमध्ये २२ जना सशस्त्र प्रहरी र ३१ जना नेपाल प्रहरी रहेका छन्। यस्तै, प्रदर्शनकारी पक्षका ३५ जना घाइते भएका छन्।

घटनामा दुई जनाको मृत्यु भएको छ। सरकारी ९ वटा तथा निजी ६ वटा सवारीसाधन गरी जम्मा १५ वटा गाडी तोडफोड भएका छन्। त्यसैगरी, विभिन्न १४ स्थानमा आगजनी भएको छ भने ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

       तीनकुने प्रदर्शनमा कीर्तिपुरका सविन महर्जनको मृत्यु

तीनकुनेमा  आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए  । शुक्रवार राजसंस्था पुनःस्थापनाका लागि आयोजित प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो ।

प्रदर्शनकारीले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपाट, निजी सञ्चारगृह तथा सवारी साधनमाथि समेत आगजनी गरेका थिए ।

तीनकुनेको आगजनीमा पत्रकार सुरेश रजकको निधन

तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको निधन भएको छ। एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारका रुपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो। आगलागी भएको भवनमा भिडियो खिच्नेक्रममा जलेर मृत्यु भएको एभिन्युजले जनाएकाे छ ।

आगलागीपछि भवनबाट रजकको जलेको शव फेला परेको थियो। एभिन्युजका अध्यक्ष तथा सञ्चालक भाष्करराज राजकर्णिकारले आगलागीमा परेका पत्रकारको उद्धारका लागी नेपाल प्रहरिका महानिरिक्षक तथा सशस्त्रका महानिरिक्षक संग बारम्वार  अनुराेध गर्दा पनि वास्ता नगरेकाे र काठमाडाैका सिडियाेले पनि दर्जनाै पटक फाेन गर्दा फाेन नउठाएकाे कारण  दुःखद् घटना भएको बताउदै यसकाे जिम्मा उनिहरूले लिनुपर्ने बताए ।

      सुरक्षा चुस्त बनाउन सेना सडकमा

काठमाडौँको तीनकुने क्षेत्रमा तनाव भएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा खटाइएको हो । उनले सेना परिचालन नभएर सुरक्षार्थ खटाइएको प्रष्ट पारे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार दिउँसोबाट निषेधाज्ञा (कर्फ्यू) जारी गरेपछि सेनाको टोली परिचालन गरिएको हो। सेनाको बख्तरबन्दसहितको टोली तीनकुनेसहितका क्षेत्रमा पुगेको छ । काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेपछि सुरक्षाका लागि सेना खटिएको हाे ।

निषेधाज्ञा अवधिभर आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरिएको छ।

 शनिबार बिहान ७ बजेसम्म कर्फ्यू समय थप

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार विहान सम्मका लागि कर्फ्यूको समय विस्तार गरेको छ । आज शनिबार बिहान ७ बजेसम्मका लागि सो समय थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, शुक्रवार राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय शनिवार  बिहानसम्म का लागि थप गरिएको हो । काठमाडौँ महानगरपालिका भित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

  राप्रपाका नेता मिश्र, राणा र अधिवक्ता नेपाल पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई आज साँझ पक्राउ गरिएको हो ।

तीनकुनेमा आज घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उनिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको जनाएको छ। त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *