उपत्यका र पहाडी क्षेत्रमा रङहरूको पर्व होली आज मनाइँदै

मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रङहरूको पर्व फागु अर्थात् होली आज मनाइँदै छ । पहाडी तथा हिमाली भूभागमा यो पर्व आज मनाइँदै छ । तराईका जिल्लामा भने भोलि मनाइनेछ । पहाड र हिमाली क्षेत्रमा भन्दा एक दिन पछि तराईमा यो पर्व मनाउने गरिएको छ । होलीको अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ । विभिन्न रंगीचंगी कपडाले सजिएको चीर ठड्याएपछि सुरु हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे ।

राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

“विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मियताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको बताएका छन् ।

उनले नेपालीको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन् ।

होलीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि शुभकामना दिएका छन् ।

 वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा यही फागुन २३ गते तीनखण्डे चीर ठड्याएसँगै यस वर्षको होली विधिवत सुरु भएको थियो । हिन्दू धार्मिक मान्यताअनुसार द्धापर युगमा भगवान् श्रीकृष्णले गोपिनीहरू नुहाउन गएको बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहँदै आएको छ ।

प्रत्येक वर्षको फागुन शुक्ल अष्टमीको दिन चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व आरम्भ हुने गरेको छ । तराई-मधेसका जिल्लामा भने भाेली शुक्रबार होली मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *