सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी सशस्त्र युद्धका कारण मुलुक २५ वर्ष पछाडि परेको बताउँदै शान्तिको बाटोले मात्र मुलुकको विकास सम्भव भएको बताएका छन् ।
२६ औं यदु स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन । ‘हतियारभन्दा विचार बलियो हो’ भन्ने कुरा माओवादी शान्ति प्रक्रियामा आएपछि पुनः प्रमाणित भएको चर्चा गर्दै तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वको नाममा मुलुकमा हिंसा मच्चाएकाले त्यसको परिणाम अहिले भोगिरहेको टिप्पणी गरे ।
नेकपा (एमाले) को तत्कालीन रुकुमका सचिव यदुप्रसाद गौतम चुनावी अभियानमा भएका बेला माओवादीले खुकुरीले छप्काएर हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री गुरुङले भने , “क्रान्ति अरूको नक्कल गरेर हुने विषय होइन, हिंसाको बाटोबाट सफल नभएपछि माओवादी बाध्य भएर शान्तिको बाटोमा आएको हो । मदन भण्डारीको सिद्धान्त र विचारअनुरूप मुलुकमा परिवर्तन सम्भव भयो ।”
कुनै पनि हिंसा र अराजकता रूपान्तरणको बाटो हुनै नसक्ने भन्दै मन्त्री गुरुङले शान्तिपूर्ण रूपले क्रान्ति सफल भएपछि माओवादीको हिंसा अन्त्य भएको चर्चा गरे उनले भने , “हिजोसम्म आफ्नो सेना नभएको पार्टी कम्युनिष्ट नै होइन भन्ने माओवादीसँग अहिले सेना कहाँ छ ? के अब ऊ कम्युनिष्ट पार्टी रहेन ?” अहिले माओवादीसँग वैचारिक सिद्धान्त नभएकै कारण अलमलमा रहेको उनले बताए ।
शान्तिको बाटो नै दीर्घकालीन र परिवर्तनको बाटो भएको चर्चा गर्दै सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने , “हिंसाको बाटो नत्यागेको भए अहिलेसम्म माओवादी समाप्त भइसक्थ्यो, अलिकति बुद्धि लगाएर शान्तिप्रक्रियामा आएर राजनीतिक रूपमा केही प्रगति गरेको हो, तर अब निरन्तर ओरालोमा रहन्छ ।”
अहिले न्यूमिडियाको नाममा सामाजिक सञ्जालमा नेपाल र नेपालीविचको सहअस्तित्व र एकता भत्काउने प्रयास भइरहेको भन्दै उनले सरकारले त्यसलाई कायम राख्न नियमनका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको बताए । मुलुकको लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्यायको सम्मान गर्दै अराजकतालाई नियमन गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको प्रष्ट पारे ।
लोकतन्त्रमा रचनात्मक आलोचना र सुझाव दिन सबै नागरिकलाई छुट रहने भए पनि अराजकता र अस्थिरता फैलाउने छुट कसैलाई नहुने भन्दै उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न मात्र खोजेको चर्चा गरे । सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने मनसाय सरकारको नभएको र त्यस्तो सोच्न पनि नसकिने भन्दै उनले सामाजिक सञ्जालमा देखिएका अस्थिरता, अराजकता र विकृतिको नियमनमात्र गर्न खोजिएको बताए ।
एमाले पोलिटव्यूरो सदस्य तथा पुरस्कार सिफारिस समितिका संयोजक सूर्यबहादुर थापाले माओवादीले चालेको तत्कालीन युद्ध हिंसा भएको भन्दै त्यही हिंसाको शिकार यदुप्रसाद गौतमजस्ता होनहार व्यक्तिहरू भएको बताउदै तत्कालीन माओवादीले २०५५ फागुन २१ गते गौतमको अनाहकमा हत्या गरेको चर्चा गरे । यदु स्मृति पत्रकारिता पुरस्कारको राशी हरेक वर्ष बढाइने भन्दै उनले २३ वर्ष पुगेकाले २३ हजार राशी बनाइएको बताए ।
एमाले पोलिटव्यूरो सदस्य तथा यदुप्रसाद गौतमका समकक्षी खेममान खड्काले रुकुम क्षेत्र २ का उम्मेदवार गौतमलाई तत्कालीन माओवादीले सानो भेरी किनारमा खुकुरीले छप्काएर अमानवीय ढङ्गले हत्या गरेकोमा दुःख व्यक्त गर्दै तत्कालीन पत्रकार, अधिवक्ता र राजनीतिज्ञ गौतम होनहार व्यक्तित्व भएको चर्चा गर्दै उनले माओवादीको तर्फबाट रुकुममा चार सय बढी व्यक्तिको हत्या भएको बताए ।
यदु स्मृति प्रतिष्ठान रुकुमका अध्यक्ष तथा स्वर्गीय गौतमका छोरी सुजाता गौतमले माओवादीले गरेको हत्याले आफूले बुवामात्र नगुमाइ मुलुकले होनहार नेता पनि गुमाएको स्मरण गरिन । बुवाको हत्या हुँदा आफू ७ वर्षको मात्र रहेको स्मरण गर्दैै उनले हिंसाले समाजको रूपान्तरण सम्भव नरहेको कुरा विश्वव्यापी रूपमा पुष्टि भइसकेको बताइन ।
कार्यक्रममा एमाले नेताहरू सजिता शाक्य, स्वर्गीय गौतमका बुवा उमाकान्त गौतम (८७), श्रीमती योगमाया गौतमसहित अन्य नेताहरूको उपस्थिति थियो । सो अवसरमा मन्त्री गुरुङले वरिष्ठ पत्रकार दिलभुषण पाठकलाई यदु स्मृति पत्रकारिता पुरस्कार २०८१ प्रदान गरेका थिए । पुरस्कारको राशी नगद २३ हजार र सम्मानपत्र रहेको छ ।
