प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै संघीय संसद सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद प्रवेश पास निलम्बन गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले संसद सचिवालयको निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पत्रकारको प्रवेश पास पुनर्बहाली गर्न आग्रह गरेको छ।
गत फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि संसदबाट बाहिरिँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार श्रेष्ठ र ओलीले ‘तपाईंलाई हिटलर र तानाशाह भनेर जनताले भन्छन् नी’ भनेर प्रश्न गरेका थिए। तर, प्रधानमन्त्री ओलीले उक्त प्रश्नको कुनै प्रतिक्रिया दिएका थिएनन्। फागुन ५ गतेको संसद बैठकमा एमाले नेताहरूले प्रधानमन्त्रीलाई सोधिएको उक्त प्रश्नलाई आपत्तिजनक भन्दै पत्रकारहरूको नियत ठिक नभएको आरोप लगाएका थिए।
त्यसको केही दिनपछि संसद सचिवालयले महासचिव स्तरीय निर्णयमार्फत पत्रकार श्रेष्ठ र ओलीको संसद प्रवेश पास निलम्बन गर्ने निर्णय गरेको हो। संसद सचिवालय स्रोतका अनुसार एमाले नेताहरूको दबाबका कारण यस्तो निर्णय गर्न बाध्य भएको दाबी गरिएको छ। संसद सचिवालयका अनुसार उनीहरूको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो।
नेपाल पत्रकार महासंघले पत्रकारलाई प्रश्न सोध्न नदिने कार्य प्रेस स्वतन्त्रता विपरीत हुने उल्लेख गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने अधिकार प्रेस काउन्सिल नेपालको भएको र संसद सचिवालयको उक्त निर्णय प्रेस स्वतन्त्रताको विरुद्धमा रहेको बताएका छन्।
महासंघले संसद सचिवालयलाई निलम्बनको निर्णय पुनरावलोकन गरी पत्रकारको प्रवेश पास फिर्ता गर्न आग्रह गरेको छ। साथै, महासंघले पत्रकार तथा सञ्चारमाध्यमहरूलाई पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको पालना गर्न पनि अनुरोध गरेको छ।