राजसंस्था पुनः स्थापनाको मागसहित राप्रपाको र्‍याली

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था पुनः स्थापना र नेपाललाई सनातन हिन्दू अधिराज्य बनाउने लक्ष्य पूरा नगरेसम्म अभियान नरोकिने बताएका छन्। राप्रपाले नेपालगञ्जमा आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘हामी सबैले प्रण गरौं, राजा सहितको प्रजातन्त्र र नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने लक्ष्य पूरा नभएसम्म विश्राम लिने छैनौं।’

उनले नेपाललाई धर्मनिरपेक्ष बनाउने काम विदेशी प्रभाव र पैसामा भएको आरोप लगाउँदै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई सन्दर्भ जोडेर प्रस्तुत गरे। ‘अमेरिका र नेपाल दुबैतर्फ भ्रष्टाचार मौलाएको कुरा ट्रम्पकै भनाइबाट पनि पुष्टि भइसकेको छ,’ उनले भने।

महामन्त्री राणाले देश संकटमा परेकाले सबै राजसंस्थावादी, सनातन हिन्दू अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधीहरू एकजुट हुनुपर्ने आह्वान गरे। पूर्वराजा ज्ञानेन्द्रले जनताको साथ आवश्यक रहेको बताइसकेको सन्दर्भ उल्लेख गर्दै उनले राष्ट्र बचाउन नेपाली जनता अघि सर्नुपर्नेमा जोड दिए।

‘व्यक्तिगत स्वार्थभन्दा देशको भविष्य महत्वपूर्ण’

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाल झन् गम्भीर संकटमा फसिरहेको दाबी गरे। ‘तपाईंका छोराछोरी, नातिनातिनी र भावी सन्ततिको मात्र कुरा होइन, देशकै भविष्य अन्धकारमा धकेलिँदै छ,’ उनले भने, ‘त्यसैले व्यक्तिगत विचारभन्दा देशको आवश्यकताका लागि राजसंस्था अपरिहार्य बनेको छ।’

उनले राजसंस्था हटाउँदा मुलुकमा अस्थिरता निम्तिएको दाबी गर्दै भने, ‘नेपालमा राजसंस्था हटाइएको तर त्यसले निम्त्याएको भाँडभैलोको कथा बयान गरेर साध्य छैन। यसको परिणाम हामी सबैले देखिसकेका छौं।’

राप्रपाको आन्दोलन देशव्यापी हुने

राप्रपाले फागुन महिनाभर सातै प्रदेशका प्रमुख शहरमा मोटरसाइकल र्‍याली र सार्वजनिक सभा गर्ने तथा चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्ययोजना बनाएको छ। कार्यक्रममा राप्रपा नेता दीपक सिंहले मुलुक बर्बादीतर्फ उन्मुख हुनुमा ठूला दलका कार्यकर्ताभन्दा नेताहरू दोषी रहेको टिप्पणी गरे।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गणतन्त्र आएपछि नेपाल विकासमा पछि परेको आरोप लगाउँदै भने, ‘छिमेकी राष्ट्रहरू आर्थिक समृद्धितर्फ अघि बढिरहेका छन्, तर नेपाल पछौटेपनको शिकार भएको छ। रोजीरोटीका लागि नेपालीहरू विदेशिनु बाध्य छन्, त्यसैले व्यवस्थामै परिवर्तन गर्न आवश्यक छ।’

त्यस्तै, राप्रपा नेपालका सहमहामन्त्री हिक्मत ढकालले राजसंस्था पुनःस्थापनाबाहेक अर्को कुनै विकल्प नरहेको बताए। नेपाल शिव सेनाका अध्यक्ष किशोर लामाले आन्दोलनलाई निर्णायक तहमा पुर्याउन जिल्लाबाट नै तयारी थाल्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *