रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको हो ।
शनिबार दिनभरि मध्यपहाडी लोकमार्गमा भएको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । रुकुमपूर्वको लुकुम–पातिहाल्ना खण्डको लगभग पाँच किलोमिटर र बागलुङ खण्डको दुई किलोमिटरमा रहेको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको उनले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा हिउँ पन्छाइएको हाे ।
हिउँ पन्छाएपछि काठमाडौँका लागि रुकुमबाट छुटेका बस र काठमाडौँकबाट रुकुमका लागि छुटेका बसलाई वारपार गराइएको छ । साथै दर्जनौं बढी साना गाडीलाई पनि वारपार गराइएको रुकुमपूर्वका प्रहरी निरीक्षक हिमबहादुर केसीले जानकारी दिए ।