शुक्रबारदेखि बागलुङलगायत आसपासका जिल्लामा निरन्तर परिरहेको झरीका कारण बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा बाक्लो हिमपात भएको छ। पातीहाल्नेमा डेढ फिटसम्म हिमपात भएको स्थानियले बताएका छन ।
बिहानैदेखि परेको हिउँले पहाड सेताम्मे बनेको निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष हेमबहादुर बुढामगरले बताए । हिउँले मध्यपहाडी लोकमार्गको बागलुङ तर्फको झण्डै ७ किमी खण्ड ढाकिएको छ। रुकुमतर्फ पनि हिमपात भएको छ । हिमपातका कारण उक्त सडक भएर सवारी समेत गुड्न सकेका छैनन्।
हिमपातका कारण सडक ढाकिएकोले मध्यपहाडी लोकमार्गमा यात्रा गर्दा सचेतना अपनाउन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् । रुकुमका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर रात्रिकालीन सवारीलाई रोक्ने प्रयास पनि भइरहेको सुवेदीले बताए । हिमपात बाक्लिदै गएमा थप केही दिन सवारी आवागमन रोक्नुपर्ने उनको भनाइ छ। तत्कालको आवश्यकता हेरेर मात्र यातायात सञ्चालन गर्न सुरक्षा व्यवस्थापन गराइएको सुवेदीले जानकारी दिए ।
चिप्लो र घुम्ती तथा भिरालोमा सडक भएकोले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरिएको छ । स्थानीय प्रहरी चौकीका जवानले स्थलगत निरीक्षण गरेर हिमपातबारे प्रशासनलाई जानकारी गराएका थिए। लोकमार्गको यो खण्डको बाटो भएर रुकुम पूर्व र पश्चित तथा जाजरकोटबाट काठमाडौंसम्म छुट्ने रात्रिबस र अन्य सवारी पनि गुड्ने गरेका छन्।
झरी परेको बेलामा यात्रा गर्न केही कठिनाइ भए पनि किसान भने खुसी भएका र हिउँदे बालीमा असर परिसकेको भए पनि बाँझो जोत्न र गहुँ लगायतको केही खेतीलाई भने राम्रो हुने बताइएकाे छ ।