इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा मङ्गलवार मध्यराती लागेको आगलागीबाट उद्योगनै ध्वस्त भएको छ । राती करिब साढे नौ बजेबाट एक्कासि आगो लागेको स्थानीयले बताएका छन् ।
आगलागीबाट कारखानामा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चिया, जेनरेटर, जस्ता पाताले बनेको दुईतले भवन सबै नष्ट भएको छ । आगो नियन्त्रणका लागि स्थानीय बासी र प्रहरीले प्रयास गरिरहेका छन् । इलाम नगरपालिकाबाट दमकल पुगेपनि भौतिक संरचना सबै क्षति भइसकेको स्थानीय बताएका छन् । विद्युत् सर्ट भएर आगो शुरु भएको हुनसक्ने अनुमान गरिएको छ ।
नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा परिचित शरद सुब्बाले करिब दश वर्ष यता सञ्चालन गर्दै आएको उधाेगबाट ह्वाइट टी, ओलाङ, ग्रीन, गोल्डन, गोल्डेन पल लगायतका ३५ भन्दा बढी प्रकारका चिया तयार गरेर तेस्रो मुलुक निर्यात हुदै आएको थियो । काठमाडौँमा आयोजित ‘नेपाल टी च्यालेन्ज २०२४’ मा ‘वेस्ट टी मेकर’ घोषित भएका शरदको यो कारखानाबाट उच्च गुणस्तरको करिब वार्षिक ४० हजार किलो तयारी चिया उत्पादन हुने गरेको थियो ।