भाेलि फागुन १४ अर्थात महाशिवरात्रि पर्ब, पशुपति क्षेत्रमा हुने भिडभाडलाई व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । कार्यालयले शिवरात्रिका लागि मात्रै डीएसपीको कमान्डमा ८ सय ९० जना ट्राफिक प्रहरी खटाउने भएको छ ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनलाई छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको बताए । उनका अनुसार तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुहेश्वरीपारि करिडोर सडकमा पार्किङ गर्न सकिनेछ ।
शिवरात्रिका दिन ट्राफिक प्रहरीले तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारीलाई भने निषेध गर्ने योजना बनाएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ र सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीका लागि वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने ट्राफिक प्रहरीको योजना छ ।
ट्राफिक प्रहरी प्रमुख घिमिरेले सहज आवागमनको व्यवस्थापनका लागि करिडोर सडक र भित्री सडकमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइने बताए ।
