एसियाली राजमार्ग निर्माण तीव्र

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

एसियाली मुलुकबिच सडक सञ्जाल जोडेर निर्वाध आवतजावत तथा व्यापार गर्न पाउने अवधारणा अन्तर्गत नेपालमा निर्माण सुरु गरिएको एसियाली राजमार्ग (एसियन हाइवे) को निर्माण तीव्र गतिमा अगाडि बढेको छ ।दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही खण्ड र कञ्चनपुर–कमला खण्डमा निर्माणाधीन यस राजमार्गको ठेक्का सम्झौता भई काम सुरु भएको एक वर्षमा भौतिक प्रगति १२ प्रतिशत पुगेको छ । असारसम्म २० देखि २५ प्रतिशतसम्म काम सक्ने लक्ष्य छ ।

यो खण्ड निर्माणका लागि २०८० माघ १९ मा ठेक्का सम्झौता भएको थियो । निर्माण अवधि तीन वर्षको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा यो सडक निर्माण भइरहेको छ । एडिबीले ‘सासेक’ कार्यक्रम अन्तर्गत अन्य एसियाली मुलुकहरूको राजमार्ग निर्माणमा पनि ऋण लगानी गरेको छ । नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । सो पुलको लम्बाइ ७९० मिटर छ । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ । अहिले पूर्व र पश्चिम गरी दुई खण्डमा काम भइरहेको छ । दुई वटै खण्डको कुल लम्बाइ ९५.७६ किलोमिटर छ ।

झापाको काँकडभिट्टादेखि सीतापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्डमा पर्छ । सीतापुरीदेखि सुनसरीको देवीखोलासम्म रहेको पश्चिमी खण्डको लम्बाइ ५०.७६ किलोमिटर छ ।

आयोजनाका प्रमुख इन्जिनियर जगत प्रजापतीले निर्माण गर्नुपर्ने पुलहरूको जग (फाउन्डेसन) को काम सम्पन्न भइसकेको जानकारी दिए । पश्चिमी खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा नदीमा पुल निर्माण भइरहेको छ । त्यसै गरी यस खण्डमा ११ किलोमिटर सडकको ‘सब बेस’ को काम र २० वटा ‘कल्भर्ट’ निर्माण सम्पन्न भइसकेको छ । यो खण्डमा ४७ वटा ‘कल्भर्ट’ निर्माण गर्नुपर्ने छ । चालु आर्थिक वर्ष (२०८१/८२) मा १० किलोमिटरमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी प्रजापतीले  जानकारि दिए  ।

त्यसै गरी पूर्वी खण्डमा यसै आर्थिक वर्षभित्र कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ । झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोकपूर्व, इटहरी चोक र इटहरी चोकपश्चिममा ओभर पास निर्माण गरिने छ । निर्माणाधीन राजमार्गको ‘क्यारिज वे’ चार लेनको भए पनि सहरी क्षेत्रमा दुवैतिर ‘सर्भिस लेन’ र सडकपेटीसहित आठ लेनको हुने आयोजना प्रमुख प्रजापती बताउछन् । ठेक्का सम्झौता अनुसार निर्माण अवधि तीन वर्ष तोकिए पनि त्रुटि सच्याउने अवधि एक वर्ष र मर्मत सम्भारको अवधि पाँच वर्ष रहेको छ ।

‘एसियन हाइवे’ अन्तर्गत दुई राजमार्ग

नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्ग रअरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्दछ । पूर्व पश्चिम महेन्द्र राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्दछन् । पूर्वसचिव अर्जुनजङ्ग थापा भन्छन् , “एसियन हाइवेको विभिन्न स्ट्यान्डर्ड हुन्छन् । अहिले एसियन हाइवेमा परेका नेपालका दुई राजमार्ग ‘सी क्लास’ अन्तर्गत पर्दछन् । यी दुई राजमार्गलाई चार लेनमा विस्तार गरी मापदण्ड पूरा गरेपछि ‘ए क्लास’ मा स्तरोन्नति हुन्छ ।”

उनका अनुसार एसियन हाइवेको रुट–२ थाइल्यान्डको बैङ्ककबाट सुरु भई बर्मा (म्यानमार), बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व पश्चिम महेन्द्रराजमार्ग भएर वनबासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ । त्यसै गरी एसियन हाइवेको रुट–२ अन्तर्गत भारतको रक्सौलबाट नेपालको वीरगन्ज, नारायणगढ, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *