ओए सीस क्लब इलामको आयोजनामा फागुन १७ गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो महिला गोल्ड कप २०८१ हुने भएको छ । ठुलो टुँडिखेलमा फागुन १७ देखि २२ गते सम्म हुने प्रतियोगितामा नेपाल र भारतका टिम सहभागी हुने आयोजकले जनाएको छ । नेपालका ए डिभिजन फुटबल र भारत सहितका आठ टिम सहभागी रहने आयोजकले जनाएको छ ।
जसमा नेपालका विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, ओए सीस फुटबल क्लब (आयोजक), पदम स्पोटिङ ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही फुटबल क्लब छन् भने भारतको मानेभञ्ज्याङ र मदर टेरेसा फुटबल क्लब भारत गरी आठ टिमको सहभागिता रहने आयोजकको भनाई छ । प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेता टिमले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
नेपाली महिला फुटबल खेलाडीले अहिले जुन स्थान हासिल गरेका छन् त्यसलाई जीवन्त राख्न र नयाँ खेलाडी उत्पादनमा प्रोत्साहनका लागि पनि महिला गोल्ड कप आयोजना गरेकोे आयोजकले जनाएको छ । ओए सीस क्लब इलामका अध्यक्ष ध्रुव राईका अनुसार यो फुटबल आयोजकको मात्रै नभई जिल्लाका सबैको रहेको र यो सम्पन्न गराउन सबै जना हातेमालो गर्दे सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा रहेको बताए । उनले पुरुषको तुलनामा महिला फुटबल प्रतियोगिता अत्यन्तै कम हुने भएको कारण पनि इलाममा हुने यो आयोजनाले ए डिभिजनका टिम उतार्ने जनाएको हो ।
प्रतियोगिता सम्पन्न गराउनका लागि ५१ लख ५० हजार रुपैयाँ लाग्ने अनुमान रहेको र उक्त रकम सहयोगी हातहरूबाट सङ्कलन हुने अपेक्षा रहेको ओए सीस क्लब इलामका सचिव रोशन राईले बताए ।
उनका अनुसार सहयोगी व्यक्तित्व र विभिन्न सङ्घ संस्थाको सहयोगमा रकम सङ्कलन गर्ने र उक्त लागतमा खेल सम्पन्न गराउन सक्छौ भन्ने योजना रहेको बताए । पछिल्लो समय स्थानीय तहले उपमेयर कप सञ्चालनले पनि महिला खेलाडी उत्पादनमा प्रोत्साहन गरेको र अब हुन लागेको महिला फुटबलले महिला खेलाडी उत्पादनमा प्रोत्साहन हुने र स्थानीय सरकारले पनि महिला फुटबलमा लगानी गर्नुपर्छ भन्ने बोध गराउन पनि खेल आयोजना भएको आयोजकको भनाई छ ।
इलामको महिला गोल्डकप गत माघ पाँच देखि १२ गते सम्म सञ्चालन गर्ने तयारी थियो । तर काठमाण्डौमा अहिले भईरहेको अन्तराष्ट्रिय महिला च्याम्पियनको कारण फागुन १७ देखि हुने गरि प्रतियोगिता सरेको हो । खेलाडी दशरत रंगशालामा हुने च्याम्पियनको तयारीमा लागे पछि इलामको गोल्डकप सारिएको थियो ।