‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ मा रहेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोसंग अमानविय व्यवहार भएको छ । ताप्लेजुङ पुगेका महतो काफ्ले पार्टी भन्ने ठाउँमा एक होटलमा बास बसेका थिए । शुक्रबार बिहान होटलमा उनलाई खाना, पानी समेत नदिई घेरा हालिएको थियो ।
मुक्ति पार्टीका नेता केशव झाका अनुसार १४÷१५ जनासहित बास बसेका महतोलाई प्रहरीले समेत अमानविय व्यवहार गरेका छन् । स्थानीय गुण्डाले समेत घेरा हाल्दा र दुर्व्यहार गर्दैगर्दा प्रहरीले चासो नदिएको उनले बताए ।
महतोलाई केवलकार बनाउँनुपर्ने पक्षबाट अमानविय व्यवहार भएको र प्रहरी मुकदर्शक बनेको बताउदै उनले शान्तिसुरक्षाको माग सरकारसंग गरेका छन् । वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै नो केवलकार समुहले आन्दोलनको गरिरहेका छन् । महतोले सो आन्दोलनमा समर्थन गर्दै मुक्कमलुङ बचाऔं पदयात्रामा रहेका छन् ।
मुक्कुमलुङ पद यात्रा शुरु गरेका महतो अहिले आन्दोलनकारीसंगै आन्दोलनमा सहभागि भएका छन् । आन्दोलनको कार्यक्रममध्ये फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ घोषणा गरिएको छ । महतोले मुन्धुम सभ्यता, मुकुमलुङको न्यायको निम्ति पदयात्रामा निष्केको जनाएका छन् ।
केबलकार निर्माण सम्बन्धमा वार्तामा बोलाइरहनुको कुनै अर्थ नभएको उनको जिकिर छ । महतोले मुक्कुमलुङ बचाऔं अभियानमा जुटन सबैसंग आग्रह समेत गरेका छन् ।