स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले भाेली फागुन ९ गते शुक्रबारबाट हरेक साता दिउँसो १ः३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा स्वास्थ्य सम्बन्धी गतिविधि र सूचना नागरिकले बढी भन्दा बढी थाहा पाउने व्यवस्था मिलाउन भनेका थिए । यसअघि मन्त्री पौडेलले नागरिकका गुनासा सम्बोधन गर्न हेल्लो स्वास्थ्य सञ्चालन गर्न गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । हेल्लो स्वास्थ्यले निःशुल्क हटलाइन नम्बर १११५, सामाजिक सञ्जाल तथा इमेलबाटसमेत नागरिकका गुनासा लिएर सम्बोधन गर्दै आइरहेको छ ।यसैक्रममा नागरिकको सूचना पहुँच वृद्धि गर्न भिडियो ब्रिफिङ शुरुवात गर्न लागिएको हो ।
‘साताभरका गतिविधि भिडियोमार्फत पस्कँदा प्रभावकारी हुने निष्कर्षसहित नियमित ब्रिफिङको तयारी गरेका हौं,’ उनले भने, ‘भोलिबाट शुरुवात हुनेछ ।’
मन्त्रालयले सञ्चारमाध्यमका अलावा सामाजिक सञ्जालबाटसमेत यस्ता गतिविधि नियमित प्रसार गर्ने तयारी गरेको छ ।