साउदी अरबमा भएको अमेरिका-रुस पहिलो चरणको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध कठोर अभिव्यक्ति दिएका छन् ।
‘युक्रेनमा निर्वाचन गर्ने बेला आएको छ,’ निर्वाचनमार्फत नयाँ नेतृत्व ल्याउने आशयसहित फ्लोरिडास्थित आफ्नो स्वामित्वको रिसोर्ट मार-ए-लागोमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने ।यसअघि उनले रुस-युक्रेनबीच हुने युद्धविरामले युक्रेनलाई फाइदा पुग्ने बताउने गरेका थिए ।
ट्रम्प–जेलेन्स्कीमाथि कडा हुनुलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मित्रता बढ्दै गएको प्रमाणका रूपमा पश्चिमी सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन् ।
उनले रुससँगको पहिलो वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अन्य युरोपियन देशका नेताहरूलाई बाहिरै राखेका थिए । राष्ट्रपति ट्रम्पको यस्तो टिप्पणीले युरोपमा थप हलचल पैदा गरेको छ ।
साउदी अरबमा भएको अमेरिका-रुस वार्तामा युरोपलाई बाहिरै राखेर ट्रम्पले क्रेमलिनको चाहनाअनुसार युक्रेनमा शान्ति सम्झौता लागू गर्ने प्रयास गर्ने आशंका बढेको छ ।
उनको टिप्पणी रुसी प्रतिनिधिमण्डलसँगको भेटपछि अमेरिकी विदेश सचिव मार्को रुबियोले गरेको टिप्पणीविपरीत हो । ‘कुनै पनि शान्ति सम्झौता सबै पक्षका लागि निष्पक्ष हुनेछ,’ रुबियोले मंगलबार भनेका थिए ।
युद्धको शुरूमा युक्रेनको राजधानी कीभमा भएको रुसी आक्रमणको प्रतिरोध गरेको अमेरिकाका राष्ट्रपति अहिले १८० डिग्रीमा घुमेका छन् । यसअघिका राष्ट्रपति जो बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेर सम्बोधन गरेका थिए । अहिले ट्रम्पले स्पष्ट रूपमा पुटिनको समर्थन गरिरहेका छन् ।
एक डेमोक्रेटिक सिनेटरको भनाइ उदृत गर्दै सीएनएनले भनेको छ, ‘त्यतिबेला नायकको रूपमा प्रशंसा गरिएका जेलेन्स्कीमाथि ट्रम्पले गरेको टिप्पणीले नयाँ अमेरिकी प्रशासनले आक्रमणकारीलाई पुरस्कृत गरिरहेको स्पष्ट संकेत दिएको छ ।’ट्रम्पले युक्रेन ध्वस्त हुनुमा जेलेन्स्की प्रमुख कारण रहेको बताए ।
‘युक्रेनमा चुनाव नभएको, मार्शल ल लागू भएको अवस्था छ,’ ट्रम्पले भने, ‘जेलेन्स्कीको अनुमोदन मूल्याङ्कन जम्मा ४ प्रतिशत छ । उनकै कारणले युक्रेन ध्वस्त भएको हो ।’
पछिल्लो अवस्थामा युद्धका कारण लाखौं युक्रेनी जनता आन्तरिक रूपमा विस्थापित भएका छन् भने लाखौंको संख्यामा विदेशमा शरण लिन बाध्य छन् । यस्तो अवस्थामा भरपर्दो मतदान हुन नसक्ने भएकाले मार्शल ल लगाएर देशको नेतृत्व गरिरहेको जेलेन्स्कीको भनाइ छ ।पछिल्ला सर्वेक्षणहरूले जेलेन्स्कीको लोकप्रियता युद्धको शुरूआतभन्दा उल्लेख्य घटेको छ ।
तर, ट्रम्पले भनेजस्तो जेलेन्स्कीको अनुमोदन मूल्यांकन जम्मा ४ प्रतिशत मात्र रहेको कुरामा सत्यता नरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।’युक्रेनका जनताले आफ्नो भनाइ राख्नुपर्दैन ? जस्तै, हाम्रो देशमा भएको जस्तो आवधिक चुनाव हुनुपर्दैन ?’ ट्रम्पले प्रश्न गरे ।
युद्धका बारेमा बोल्दा रुसलाई समर्थन गरेको जस्तो देखिएको भन्दै पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, ‘मैले बोलिरहेका कुरा रुसको कुरा होइन, मैले बोलेको कुरा हो ।’
युक्रेनको अन्तिम चुनाव गत अप्रिलमा हुने भनिएको थियो, तर जेलेन्स्कीले युद्धको समयमा मतदाताहरूलाई मतदानमा जान सम्भव नभएको बताएर संविधानसम्मत नै मार्शल ल लागू गरेको बताएका थिए । मार-ए-लागोमा पत्रकारहरूसमक्ष ट्रम्पले तीन वर्षअघि रुसले युक्रेनमाथि गरेको आक्रमणबारेका केही तथ्यहरूलाई पुनर्व्याख्या गर्ने प्रयास गरेका थिए ।
‘आज मैले सुनें, वार्तामा हामीलाई आमन्त्रित गरिएको थिएन भन्दै हिँडेका रहेछन्,’ ट्रम्पले युक्रेनको गुनासोबारे भने, ‘ठीक छ, त्यहाँ लडाईं भएको तीन वर्ष भयो । यसलाई त्यतिबेलै किन समाप्त नगरेको ? तपाईंले यसलाई शुरू नै किन हुन दिनुभएको ? तपाईंले सम्झौता गर्न किन नसकेको ?’
ट्रम्पले जेलेन्स्कीले नै युद्धको शुरुआत गरेको, रुससँग सम्झौता नगरेको र चुनाव नगराएर अवैध तरिकाले नेतृत्वमा रहेको भन्दै यस किसिमले पहिलोपल्ट कडा टिप्पणी गरेको सीएनएनले जनाएको छ ।
साउदी अरबमा वार्ता जारी रहँदा ट्रम्पले दिएको यस्तो प्रतिक्रियाले रुसी पक्षको हात माथि रहेको देखाएको छ । उनको टिप्पणीले युरोपेली देशहरूले लामो समयदेखि बनाएको शान्तिको योजनामाथि पानी पारिदिएको छ भने युरोपेली देशका नेताहरू थप सशंकित बनेका छन् ।
युक्रेनमा शान्ति सम्झौता कस्तो हुने भन्ने बारेमा ट्रम्पले स्पष्ट धारणा व्यक्त गरेनन् । उनले युद्ध अन्त्य हुने गरी गरिने कुनै प्रकारको सम्झौता आफ्नो प्रमुख लक्ष्य रहेको बताए ।
ट्रम्पले युक्रेन युद्ध अन्त्य नै आफ्नो लक्ष्य रहेकाले कसको पक्षमा सम्झौता हुँदैछ भन्ने कुरा गौण रहेको व्याख्या गरे । तर, उनका आलोचकहरूले यस्तो किसिमको समाधानले भविष्यमा थप द्वन्द्व बढ्न सक्ने आशंका गरेका छन् ।
ट्रम्पले सम्झौता भएपछि युक्रेनमा युरोपेली सेना रहने सम्भावना पनि रहेको बताएका थिए । ‘युरोपेली सेनाले कुनै पनि अन्तिम सम्झौता कार्यान्वयन गर्ने सम्भावना खुला छ,’ ट्रम्पले भने ।
यद्यपि, साउदी अरबमा जारी वार्तामा मस्कोका प्रतिनिधिहरूले युक्रेनमा युरोपेली सेना रहने कुरा अस्विकार गरेका थिए । उनले बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले दिएको चेतावनीमा भने कुनै टिप्पणी गरेनन् ।
प्रधानमन्त्री स्टार्मरले आवश्यकता परे युक्रेनमा युरोपेली देशहरूले सेना समेत पठाउने विषयमा विचार गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले गत हप्ता युक्रेनमा शान्ति कायम गर्न कुनै पनि अमेरिकी सेना संलग्न नहुने चेतावनी दिएपछि स्टार्मरले त्यसको आलोचना गर्दै शान्ति स्थापनाका लागि युरोपेली सेना पठाउने विषयमा विचार गर्नुपर्ने बताएका हुन् ।
तर, ट्रम्पले रुस-युक्रेनबीच हुने शान्ति सम्झौतामा रुसलाई माथि पार्ने प्रयास गरे पनि उनकै पार्टीका सिनेटरहरू भने रुसप्रति नकारात्मक देखिन्छन् । सिनेट रोजर विकरले मंगलबार रुसी नेतालाई विश्वास गर्न नसकिने बताएका थिए ।
त्यस्तै, मिसीसीपीका एक सिनेटरको भनाइ उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘पुटिन एक युद्ध अपराधी हुन् र यदि मृत्युदण्ड दिइएन भने पनि उनी जीवनभर जेलमा बस्नुपर्ने हो ।’
त्यस्तै, लुजियानाका सिनेटर जोन केनेडीले पुटिनको हृदय कालो रहेको टिप्पणी गरेका छन् । ‘पुटिनमा स्टालिनको रगत छ,’ केनेडीले भने ।