अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा दिइएको सहायतालाई ठगीको रूपमा व्याख्या गरेका छन्। ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले नेपाललाई संघीयता सम्बन्धमा दिइएको सहायतालाई ठगी भएको बताएका हुन्।
अहिले यी दुवै सहायतालाई ट्रम्प प्रशासनले रद्द गरेको छ। उनका सहयोगी एलन मस्कले यी दुवै सहायता रद्द गर्न ह्वाइट हाउस प्रशासनलाई सुझाव दिएका थिए। सोही सुझावअनुसार ट्रम्प प्रशासनले गत १६ फेब्रुअरीमा यी दुवै सहायतालाई रद्द गर्ने निर्णय गरेको थियो।
नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि स्थगित भएको छ। अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर अमेरिकी सहायता सञ्चालित एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जानकारी दिएको छ। ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले २०८१ फागुन २ गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित ‘एमसीसी फन्ड’बाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ अर्थ मन्त्रालयले भनेको छ।