सप्तरी । राजविराज नगरपालिका क्षेत्रको बिटौरी जग्गा समस्या समाधान तथा जनहितका विभिन्न माँग राख्दै आन्दोलन कार्यक्रम घोषणा सहित सोमवार प्रधानमनन्त्रीलाई ज्ञापन पत्र पठाईएको छ ।नगरवासीद्वारा नेपाली काँग्रेसका युवा नेता इरसाद अंसारीको नेतृत्वमा गठित संर्घष समितिले सोमवार नगरमा विरोध प्रर्दशन पश्चात प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको ज्ञापनपत्रमा वि.स.२०१६ साल मै नगरपालिका घोषणा भई नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दाँया बाया पुस्तौ देखी वसोवास गर्दै आएका झण्डै ५ हजार २ सय परिवार वर्षौैै देखी लालपुर्जा पाउन नसकी समस्यामा परेको उल्लेख छ ।
जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा वासोवास र विगतमा समस्यामा परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बैंक र वित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बन्चित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । “विगत ८ वर्ष देखी श्रेस्ता र कम्प्युटरमा कुनै रेर्कड नभएको भन्दै भुमिसुधार तथा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछी नगरवासी बैक तथा वित्तिय संस्थाबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित छन । ज्ञापनपत्रमा भनिएको छ ।”
विटौरी जग्गाको वर्षाै देखी कर लिने गरेको राजविराज नगरपालिकाले लालपुर्जा र नक्शापास समेत उपलब्ध नगराउदा बैंक तथा वित्तिय संस्थाले त्यस्तो जग्गा धितो राख्न मानेका छैनन् । जसकारण यहाँको ब्यापार व्यवसाय चौपट हुनुका साथै शिक्षा, उपचार लगायतका कार्यमा समेत नगरवासीलाई समस्या परेको छ ।पुस्तौदेखि बसोवास गर्दै आएका आफ्नै जग्गा पनि समस्या पर्दा बैक तथा वित्तिय संस्थामा धितो राखेर ऋण लिन नपाउनु दृुःखद र निन्दनीय भएको ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै ज्ञापनपत्र मार्फत राजविराज हटिया कम्प्लेक्शको अधुरो निर्माण कार्य अविलम्ब सम्पन्न गराई व्यापारीलाई हस्तान्तरण, राजविराजको वसपार्क संचालन, गजेन्द्र नारायण सिह औधोगिक क्षेत्रमा उधोगहरु स्थापना, राजविराजका सडकहरुको स्तरोन्नती, वडा नंं १५ स्थित खाँडो तटबन्धका जाग्गाहरुको नापी लगायतका मुद्दा समेत उठान गरिएको छ ।
७ दिनको समय सिमा दिएर आन्दोलनको कार्यक्रम सहित बुझाइएको ज्ञापनपत्रमा फागुन १५ गते राजविराजमा प्रर्दशन, तथा विरोधसभा, फागुन १८ गते राजविराज बन्द, फागुन २१ गते नगरका घर र पसलमा कालो झण्डा झुण्ड्याउने, फागुन २५ गते राजविराज नगरपालिका कार्यालयमा तालाबन्दीप्, फागुन २८ गते नापी र भुमिव्यवस्था मालपोत कार्यालयमा तालाबन्दी तथा चैत्र २ गते देखी गजेन्द्र चौकमा अनिश्चितकालिन रिले अनशन सूरु गर्ने संघर्ष समितिको निर्णय भएको उल्लेख गरिएको छ ।
काँग्रेस सप्तरीका सचिव सनत मण्डल, जिल्ला कार्य समितिका सदस्य शम्मु लाल देव, नेविसंघका अध्यक्ष राकेश ठाकुर लगायतको उपस्थितीमा ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएको संर्घष समितिले जनाएको छ ।यसअघि सोमबार विहान नै बसेको नगरवासीको बृहत भेलाले अन्सारीको नेतृत्वमा ५१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो ।