नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच हुने मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराएको हो । चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा यो मैत्रीपूर्ण फुटबल आयोजना हुन लागेको हो ।
नेपाल र चीनबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दिउँसो २:३० बजे शुरु हुनेछ । यस खेलको प्राविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ लगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने बताइएको छ।
युनान युथ फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको नेतृत्व रक्षक सिमान्त थापाले गर्ने भएका छन् । खेलअघि आयोजना भएको पत्रकार सम्मेलनमा सिमान्तलाई कप्तानको रूपमा सार्वजनिक गरिएको हो ।
पछिल्लो समय सिमान्तले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यसअघि उनले सन् २०२२ मा श्रीलंकामा भएको दक्षिण एसियाली महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा नियमित कप्तान प्रशान्त लक्षम अनुपस्थित हुँदा कप्तानी जिम्मेवारी निर्वाह गरेका थिए ।