बर्खामा यातायात सहज बनाउन बीपी राजमार्ग दोस्रो चरणको पुनर्निर्माण गरिँदै

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले बीपी राजमार्ग अन्तर्गत भकुण्डेबेसी–नेपालथोक सडक खण्डमा दोस्रो चरणको पुनर्निर्माण गर्ने तयारी थालेको छ । पहिलो चरणको पुनर्निर्माण अन्तर्गत यो खण्डका विभिन्न क्षेत्रमा नदी किनारका क्षेत्रमा उकास गरी अस्थायी बाटो बनाइएको थियो ।बर्खा सिजनमा उक्त बाटोमा सवारी आवागमन सहज नहुने भएकाले त्यस अघि नै दोस्रो चरणको पुनर्निर्माण प्रक्रिया सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको हो ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुख इन्जिनियर शुभराज न्यौपानेले सोमबारदेखि नै सडक विभागले आवश्यक उपकरण निर्माण क्षेत्रमा पठाउने जानकारी दिए ।उनले भने, ‘कतिपय स्थानमा खोलो फर्काउने, बाटो उठाउने, कति ठाउँमा जाली लगाएर ग्याभिन वाल बनाएर बर्खामा आउन सक्ने सामान्य बाढी रोक्न सक्ने गरी संरचना निर्माण गर्ने तयारी छ ।’

न्यौपानेका अनुसार दोस्रो चरणको अस्थायी सडक पुनर्निर्माणका लागि आवश्यक बजेट सडक बोर्डको आकस्मिक सडक मर्मतको बजेटमार्फत खर्च गरिनेछ । उक्त बजेटले नपुगेको खण्डमा सडक विभागको बजेटबाट व्यवस्थापन गरिने उनले जानकारी दिए ।गत असोजको दोस्रो साता आएको बाढीले बीपी राजमार्गको भकुण्डेबेसी–नेपालथोक सडक खण्ड तहसनहस पारेको थियो । यो खण्डमध्ये ८.७ किलोमिटर सडक नदीले कटान गरेको हो । बाढीपछि सडक विभागले पहिलो चरणको पुनर्निर्माण अन्तर्गत अस्थायी ट्र्याक निर्माण गरी सवारी सञ्चालनमा ल्याएको थियो ।

बर्खा याममा यातायात सञ्चालन सम्भव नदेखिएकाले दोस्रो चरणमा अस्थायी सडक पुनर्निर्माण गर्नुपरेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् ।मन्त्रालयका सचिव शर्माले यो सडक खण्डको स्थायी पुनर्निर्माणका लागि बजेट व्यवस्थापन हुन नसकेको बताए । अहिलेकै अवस्थामा बर्खामा यातायात सञ्चालन गर्न नसक्ने देखिएकाले अस्थायी संरचना निर्माण आवश्यक भएको उनको भनाइ छ ।

‘अहिले सवारी सहजै सञ्चालन भइरहेको छ । बेला–बेला मर्मतसम्भार पनि गरिरहेका छौँ,’ शर्माले भने, ‘तर वर्षामा यातायात सञ्चालन नरोकियोस् भन्ने उद्देश्यले ठुलो बाढी आएको बेला, रातको समयमा बन्द गरी सामान्य वर्षामा सञ्चालनका लागि अस्थायी प्रकृतिको काम गर्ने उद्देश्य हो ।’विभिन्न स्थानमा वाल लगाएर, खोला फर्काएर दोस्रो चरणको पुनर्निर्माण गरिने शर्माले बताए ।

यो राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि ९ अर्ब ६६ करोड लागत लाग्ने अध्ययनले देखाएको छ । विपद् व्यवस्थापन कोषको रकमबाट बीपी राजमार्ग पुनर्निर्माणका लागि बजेट व्यवस्थापन गर्ने भनिए पनि अर्थ मन्त्रालयले दातृ निकायसँग पनि बजेट व्यवस्थापनका लागि समन्वय गरिरहेको सचिव शर्माको भनाइ छ । ‘विपद्को कोषको रकमबाट खर्च गर्ने भनिए पनि अहिलेसम्म सुनिश्चितता भइसकेको छैन,’ सचिव शर्माले भने, ‘अर्थ मन्त्रालयले विभिन्न दातृ निकायसँग पनि बजेट व्यवस्थापनका लागि समन्वय गरिरहेको छ ।’

उक्त सडक स्थायी रूपमा निर्माणका लागि तीन किसिमका पर्खाल (वाल) लगाउनुपर्ने देखिएको छ । जसमा आरसीसी रिटेनिङ वाल, प्लम वाल, ग्याभिन वाल लगाउनुपर्ने अध्ययनको निष्कर्ष छ ।यो ८.७ किलोमिटर खोलाले बगाएको छेउको बाटो हो । आरसीसी वाल खोला आउन सक्ने ठाउँमा लगाउनुपर्ने देखिएको छ । कतै प्लम वाल र कतै ग्याभिन वाल लगाउनु पर्ने अध्ययन निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *