सुरी भीरमा ओखलढुङ्गाकै पहिलो ‘रक क्लाइम्बिङ’

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा साहसिक खेल रक क्लाइम्बिङ गर्न पाइने भएको छ । खिजिदेम्बा गाउँपालिकामा जिल्लाकै पहिलो रक क्लाइम्बिङ सेन्टरको निर्माण कार्य अन्तिम चराणमा पुगेको छ । गाउँपालिकाको वडा नं. १ र ३ को सिमानामा रहेको सुरी भीरमा रक क्लाम्बिङ सेन्टर निर्माण गरिएको हो ।

साहसिक खेलकुद तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गाउँपालिकाको पर्यटन सद्भावना दूत सगरमाथा आरोही कुङ्गा शेर्पाको अगुवाईमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका आठ जना गाइडहरूले उक्त भीरमा क्लाइम्बिङ रुट निर्माण गरिरहेका छन्  ।

एसोसिएसनका तीन जना अन्तर्राष्ट्रिय र पाँच जना राष्ट्रिय रक गाईडहरू मार्फत करिब ५५ मिटर लामो चार वटा मल्टी पिक र आठ वटा नर्मल पिक रुट निर्माण  भइरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए  । अहिले रक गाइड तथा प्राविधिकहरू मार्फत रुट निर्माण र सरसफाइ को काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए  ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा दस लाख बजेट विनियोजन गरेर सुरी भीरमा रक क्लाइम्बिङ सेन्टर निर्माणको कार्य अघि बढाइएको अध्यक्ष शेर्पाको भनाइ छ । आगामी आर्थिक वर्षमा थप रुट र आवश्यक संरचना निर्माण गरी रक क्लाइम्बिङ महोत्सवको आयोजना गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू ल्याई उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शेर्पाले बताए  ।

रक क्लाइम्बिङको प्रशिक्षण समेत दिन मिल्ने गरी संरचनाहरू निर्माण गर्ने योजना रहेको बताइएको छ । रक क्लाइम्बिङ सेन्टर सञ्चालनमा आएसँगै साहसिक खेल पर्यटन मार्फत गाउँपालिकाको आर्थिक समृद्धि हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए  ।

गत आर्थिक वर्षमा रक क्लाइम्बिङ सेन्टर निर्माणका लागि गाउँपालिकाको नौ वटै वडामा सम्भाव्यता अध्ययन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *