२०७७ साल चैत २० गते पहिलो पटक काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएतापनि चार वर्ष पुग्न लाग्दासमेत सिंहदरबारस्थित विभिन्न सरकारी कार्यालयमा अहिलेसम्म मेलम्ची खानेपानी आयोजनाको पाइप जडान गरिएको छैन । यी कार्यालयमा बोरिङ, ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता प्रेमप्रसाद आचार्यले यस कार्यालयमा पनि अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान हुन नसकेको बताए । उनले कार्यालयमा बोरिङको पानीका साथै खरिद गरिएको जारको पानी प्रयोग गर्ने गरिएको जानकारी दिदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पानी प्रयोजनका लागि ‘डिप बोरिङ’ जडान गरिएको बताए ।
उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको पाइप सिंहदरबार परिसरमा आइसकेको छ । विभिन्न मन्त्रालय र कार्यालय जोड्ने प्रक्रियामा छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ट्याङ्कर र बोतलको पानी बन्द गरिएको छ । पिउनका लागि जारको पानी प्रयोग गरिएको छ । अन्य प्रयोजनका लागि बोरिङको पानी प्रयोग गरिएको छ ।
मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीले सिंहदरबार परिसरमा मेलम्चीको पानी वितरणका लागि अनामनगर भण्डारण केन्द्रबाट दुई सय एमएमको पाइप सिंहदरबार परिसरमा पुर्याइएको जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ कार्यालयले सरकारी कार्यालय र संस्थानलाई सिधै पाइप जडान गर्न नमिल्ने बताउँदै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ग्राहक बनेर आएको अवस्थामा मात्र एकाइले पाइप जडान गर्न सक्ने स्पष्ट पारे ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का योजना, डिजाइन तथा कार्यान्वयन शाखाका प्रमुख विजयकुमार विश्वकर्माले मेलम्चीको पानी वितरणका लागि सिंहदरबारपरिसरमा थोक वितरण प्रणालीको पाइप पुर्याइए पनि त्यहाँका विभिन्न मन्त्रालय र कार्यालयमा पानी वितरण पाइप जडान हुन नसकेको बताए ।
सम्बन्धित निकाय नै किनेर खान्छन् पानी
मेलम्ची खानेपानी आयोजनालगायत मेलम्चीको पानी वितरण व्यवस्थापनको जिम्मा पाएका कार्यालयमा समेत अहिलेसम्म मेलम्चीको पाइप जडान हुन सकेको छैन । यी कार्यालयले आफैँ ट्याङ्कर, जार र बोतलको पानी किनेर खाने गरेका छन् ।
मेलम्ची खानेपानी आयोजना कार्यालय, मेलम्चीको पानी वितरण तथा पाइप जडानको जिम्मेवारी पाएका मेलम्ची खानेपानी आयोजना कार्यान्वयन एकाइ कार्यालय, पानी वितरणको जिम्मेवारी पाएका काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालयले नै ट्याङ्कर, जार र बोतलको पानी किनेर खाने गरेको पाइएको छ ।