सुमेरु सहकारीका तीन कार्यालयमा तालाबन्दी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका तीन वटै सहकारी संस्थामा तालाबन्दी गरिएको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका तीन वटा सहकारी संस्थामध्ये पछिल्लो पटक सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका कार्यालयमा तालाबन्दी गरिएको हो ।

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारीले सहकारीका मुख्य कार्यालयसहित तीन वटा कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिए  । उनका अनुसार उक्त सहकारी संस्थाको ललितपुरको पुल्चोकस्थित मुख्य कार्यालय, धापाखेलस्थित कार्यालय र भक्तपुरको गट्ठाघरस्थित कार्यालयमा तालाबन्दी गरिएको हो । उनले तालाबन्दीसँगै सहकारीमा रहेका सर्भर, कम्प्युटरको हार्डडिक्स, सफ्टवेयर, खातालगायतका अभिलेख नियन्त्रणमा लिएको जानकारी दिए  ।

कम्प्युटरको युजरआइडी, पासवर्ड लिएर अभिलेख खोज्ने र बचतकर्ता, उनीहरूको लगानी तथा ऋणीको सङ्ख्या पत्ता लगाई बचतकर्ताको बचत फिर्तालगायतका आवश्यक प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए  ।

प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेका तीन सहकारी संस्था मध्ये यसअघिनै लालिगुराँस बचत तथा ऋण सहकारी संस्था र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाको काठमाडौँस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन वटै सहकारी संस्थाको सञ्चालक समितिलाई निलम्बन गरेको छ ।

सहकारीको र सहकारीका सेयर सदस्यको पनि खाता रोक्का गरी सहकारी संस्थाको सञ्चालक समिति निलम्बनमा परेसँगै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जिम्मेवारीमा लिएर सञ्चालकलाई सोधपुछ र छानबिन प्रक्रिया अगाडि बढाएको छ । सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभबारे यसअघि नै सिआइबीले पनि छानबिन सुरु गरेको थियो ।

यसअघि प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट यी तीन वटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको हो ।समस्याग्रस्त घोषणा गरिएको सहकारी संस्थाले वित्तीय दायित्व पूरा नगरेको, बचतकर्ताको बचत माग गर्दा फिर्ता नगरेको, बचत फिर्ता गर्ने कार्य योजना बनाएर पनि साे अनुसार काम नगरेको भन्दै मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेको थियाे ।

समस्याग्रस्त घोषणा गरिएका सहकारीका सेयर सदस्यको उजुरी र सहकारी संस्थाले समयमा बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै उजुरी परेको थियो । उजुरीको सम्बोधन गर्न समस्याग्रस्त सहकारीका सञ्चालकलाई पटक पटक ताकिता गर्दा पनि सुनुवाइ नभएको समिति अध्यक्ष अधिकारीले बताए  । सहकारी महाशाखाले यी तीन वटा सहकारीबाट गरी सेयर सदस्यले करिब चार अर्ब रुपियाँको माग दाबीसहित उजुरी दर्ता गरेको जनाइएको छ ।

सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सेयर सदस्यको ८४८ वटाभन्दा बढी उजुरी, लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाका ९७२ भन्दा बढी सेयर सदस्यको उजुरी र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका सय जनाभन्दा बढी सेयर सदस्यको उजुरी सहकारी संस्थाविरुद्ध महाशाखामा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *