शेरा दरबार प्रकरण: अन्नपूर्ण फार्मिङलाई प्रमाण देखाउने मौका

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नुवाकोटको विदुरस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गा सरकारले ल्याउने प्रक्रिया चलिरहँदा अन्नपूर्ण फार्मिङलाई प्रमाण पेस गर्न मौका दिइने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त फार्मिङलाई नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरण गर्ने गरी जिल्ला मालपोत कार्यालयमा प्रमाण पेस गर्ने मौका दिन लागेको हो।

‘ऐतिहासिक शेरा दरबारले चर्चेको जग्गा अन्नपूर्ण फार्मिङका नाममा कसरी गएको हो, त्यसका प्रमाणहरू मालपोत कार्यालयमा पेस गर्ने मौका प्रदान गरिनेछ,’ भूमि व्यवस्था मन्त्रालयका एक उच्च अधिकारीले भने। ती अधिकारीका अनुसार शुक्रबार मन्त्रालयमा सचिवसहित बसेको छलफलले यस्तो निर्णय गरेको थियो।

जग्गाको सुरु नापीमै कैफियत देखिएपछि मन्त्रालयको टोली नुवाकोट पुगेर फर्केपछि गरिएका विभिन्न अध्ययनका क्रममा अन्नपूर्ण फार्मिङलाई प्रमाण पेस गर्न मौका दिनुपर्ने सुझाव दिइएको थियो। सोही सुझावका आधारमा मन्त्रालयले यस्तो निर्णय गरेको हो। भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सचिव अर्जुनप्रसाद पोखरेलसहितको टोलीले यस्तो निर्णय गरेको मन्त्रालय स्रोतको दाबी छ। यो विषयमा मन्त्रालयका अधिकारीहरू आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

मन्त्रालयका प्रवक्ता गणेश भट्ट बिदामा रहेको अवस्थामा सहायक प्रवक्ता दामोदर वाग्लेले यसबारे कुरा गर्न अस्वीकार गरेका छन्। वाग्ले मोबाइल नै स्विच अफ गरेर बसेका छन्। मन्त्रालयले सबै प्रक्रिया पूरा गरेर मात्रै जग्गा सरकारका नाममा फिर्ता ल्याउने जनाएको छ। नुवकोट मालपोत कार्यालयका प्रमुख मीनप्रसाद भट्टराईले सबै काम मन्त्रालयबाट भइराखेकाले नुवाकोट मालपोत कार्यालयलाई केही जानकारी नभएको बताए। ‘सबै काम मन्त्रालयबाट भइरहेको छ, यताबाट केही काम भएको छैन। त्यसबारे हामीलाई कुनै जानकारी छैन,’ भट्टराईले भने।

पछिल्लो पटक मालपोत कार्यालयको स्रेस्तामा केरमेट गरी गौरीशंकर फार्मिङलाई ‘अन्नपूर्ण फार्मिङ’ बनाइएको विषयमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप अनुसन्धान गरिरहेको छ। ‘पछिल्लो पटक जो सेयरधनीका रूपमा देखा परे ती व्यक्तिले पनि हदबन्दीको जग्गा हो भन्ने राम्रो जानकारी पाएका छन्।

मालपोत कार्यालयमै हदबन्दीको सूचना टाँस गरिएको छ,’ सिआइबीका प्रमुख एआइजी दीपक थापाले भने। उनका अनुसार विकेश श्रेष्ठ र उनको परिवारले पनि कृषि फार्म सञ्चालन गर्छु भनेको पाइएको तर सोअनुरूप भोगचलन नगरेको पाइएको छ। मन्त्रालयले पनि यही विषयमा थप अनुसन्धान गर्न सिआइबीलाई आग्रह गरिसकेको छ। मन्त्रालय स्रोतका अनुसार अन्नपूर्ण फार्मिङले प्रमाण पेस गरेपछि मात्रै मालपोत कार्यालयमा भएको स्रेस्तामा भएको केरमेटबारे अनुसन्धान हुनेछ।

अहिले भूमि व्यवस्था मन्त्रालय र भूमि व्यवस्था विभागमा शेरा दरबार र यसले चर्चेको जग्गा राष्ट्रियकरण गर्न सरकारको स्वामित्वमा ल्याउने विषयमा दिनहुँ छलफल भइरहेको छ।

मन्त्रालय र विभागका अधिकारीहरू सोही विषयलाई लिएर दिनभरजसो छलफलमा व्यस्त भइरहेका छन्। प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयबीच आवश्यक समन्वय गरेर अघि बढ्ने निर्णय भएपछि अन्नपूर्ण फार्मिङलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रमाण पेसका लागि सहजीकरण गर्न लागिएको हो।

अहिले यो विषयमा भूमि व्यवस्था विभागका अधिकारीले मन्त्रालयमा छलफल गरिरहेका छन्। मन्त्रालयका सचिव अर्जुन पोखरेल, जग्गा प्रशासन महाशाखा प्रमुख श्रवण पोखरेल, भूमि व्यवस्था तथा अभिलेख विभागका प्रमुख शिवप्रकाश रेग्मीबीच आवश्यक परामर्श भइरहेको छ। उनीहरूले महान्यायाधिवक्ता रमेश बडालसँग पनि परामर्श गरेका छन्। साथै मन्त्रालयका कानुनविद्ले पनि आफ्नो राय प्रस्तुत गरिसकेका छन्। त्यसमा सिआइबीले अनुसन्धान सिध्याएर पेस गरेका विषयहरूमाथि छलफल गरी कानुनी आधारमा टेकेर सरकारीकरण गर्ने प्रक्रियामा मन्त्रालय अघि बढिसकेको बताइएको छ।

सिआइबीले खासगरी जग्गा सरकारी गर्नुपर्नेमा सुरुमा सरकारकै नाममा रहेको जग्गा पछि हेलेन र जयन्ती शाहको नाममा लैजानु र उनीहरूले पनि हदबन्दी बढीको जग्गा कम्पनीको नाप्नका लागि तत्कालीन मालपोत कार्यालयको कुनै पनि स्वीकृति नलिनुले पनि कैफियत रहेको निष्कर्ष निकालेको छ।

हेलेन र जयन्तीका नाममा सबै जग्गा नहुनु, हदबन्दीको नाममा जग्गा राखेर हडप्नु, सुरुमै हदबन्दीभन्दा बढीको जग्गा कम्पनीले नाप्ने अनुमति नलिनु, कम्पनीको नाममा जग्गा राखेर आफू बाहिरिनु, लामो समय जग्गा प्रयोजनविपरीत रहनु, फार्मिङका नाममा सेयर कारोबार शंकास्पद हुनु, हदबन्दीको नियमन गरी पाऊँ भनेर भर्खरै मात्र निवेदन दिइनु, सुरुमा जग्गा खरिद नहुनु, कम्पनीको नाममा जग्गा हुनु तर सेयर कारोबार मात्रै जस्ता विषयलाई आधार प्रस्तुत गरिएको छ।

‘सुरुमा २०३५ फागुन १२ गते शेरा दरबार र शेरा दरबारले चर्चेको कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जम्मा १३ कित्ताको १६४–१३–०२–०१ क्षेत्रफल जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखबाट देखिन्छ,’ सिआइबीले दिएको रिपोर्टमा उल्लेल छ, ‘जग्गा भूमिसुधार ऐनपश्चात् हदबन्दीको कारण शेरा दरबार र त्यसले दरबारले चर्चेको जग्गा राजा महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराकी पत्नी हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिको नाममा हदबन्दीका कारण नापी हुन नसकेर गौरीशंकर फार्मिङका नाममा नापी गराइनु नै दूषित हो।’ सुरुमै सरकारको नाममा रहेको जग्गा किन गौरीशंकर वा अन्नपूर्ण फार्मिङको नाममा पुग्यो भन्नेबारे भूमि व्यवस्था मन्त्रालय र सिआइबीले प्रश्न उठाएर सो जग्गा सरकारको नाममा ल्याउन लागिएको छ।

शेरा दरबारको जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भए पनि फार्मिङको सञ्चालक र सेयरधनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए। गौरीशंकर फार्मिङ नामको संस्था मिति २०२७ फागुन २८ मा स्थापित भएकामा सो संस्था मिति २०३६ असार १ को निर्णयले अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ।

२०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर (केरमेट गरेर) अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो। त्यसपछि २०५२ सालसम्ममा विजया राज्यलक्ष्मी शाहका नाममा रहेको कम्पनीको सेयर जयन्ती शाहको नाममा गएको देखिएको छ। ‘यहीँनेर कमजोरी देखिएको छ,’ सिआइबी स्रोतले भन्यो।

२०५२ सालमा हेलेन शाह र जयन्ती शाहको नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ चार जनाको नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असार ३ गते सेयर दाखिला खारेजको निर्णयले विकेश श्रेष्ठ सेयर कित्ता संख्या पाँच लाख ६७ हजार पाँच सयको मूल्य पाँच करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ।

त्यसै गरी अजयकुमार सूर्यवंशी नाममा पनि अर्को सेयर रहेको छ। उनका नाममा सेयर कित्ता संख्या चार लाख ६० हजार चार सय १० को मूल्य चार करोड ६० लाख ४१ हजारमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट बिदुर नगरपालिका वडा नम्बर ४ बस्ने ध्रुवलाल श्रेष्ठको सेयर कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।

यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिकको कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाखसमेत गरी चार जनाको नाममा ११ करोड १७ लाख ९१ हजार रूपैयाँमा सेयर खरिदबिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिएको छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रही विकेश श्रेष्ठको छोरो मनोबल श्रेष्ठलाई सेयरधनी बनाइएको थियो।

साभार नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *