नयाँदिल्ली । दक्षिणी भारतमा ‘बुल फाइट’ अर्थात् साँढे जुधाई प्रतियोगिताका क्रममा कम्तीमा सातजनाको मृत्यु भएको अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा साे घटना भएकाे हाे ।
छुट्टाछुट्टै घटनामा दुई साँढेको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगंगाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको पनि मृत्यु भएको छ ।
अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन् । साँढे मालिकहरूले सामान्यतया ठूलो भीडको उपस्थितिमा दौड पछि आफ्नो साँढेहरू संकलन गर्छन् ।