विपक्षी दलहरूको बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय भएको छ। बैठकपछि विपक्षी दलले आजै नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होल्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।
यसअघि हिजाे बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहालको आह्वानमा सिंहदरबारमा विपक्षी दलको बैठक बसेको थियो।बैठकले माओवादी केन्द्रका उप महासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल सम्मिलित दुई सदस्यीय कार्यदल बनाएर विपक्षीहरू को साझा धारणाको ड्राफ्ट तयार गर्न जिम्मेवारी दिएको थियो। सोही कार्यदलले तयार पारेको विपक्षीको साझा धारणालाई आज सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो।
बैठकले सरकारले ल्याएको अध्यादेशको विरोधमा उत्रिने र संसद् बैठक आव्हानका लागि दबाब दिने निर्णय गरेको थियो। यस्तै बैठकले संसद अधिवेशन बोलाउन आलटाल गरेको,संसद अधिवेशन नबोलाएर अध्यादेश जारी गरेको,दलसम्बन्धी विधेयकमा साना दलको आवाज कमजोर पार्ने षडयन्त्र भएको निष्कर्ष निकाल्दै सत्ता पक्षमा रहेका साना दलहरूको साथ लिएर सरकार विरुद्ध संयुक्त मोर्चाबन्दीमा जाने निर्णय गरेको थियो।