वि.सं २०८२ को पञ्चाङ्ग माघ तेस्रो सातासम्ममा बजारमा ल्याउने गरी तयारी भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पञ्चाङ्गकारले ग्रहगणित गणना गरेर रुजु भइसकेकाले बाँकी काम सिध्याएर समितिले स्वीकृति दिन लागेको हो । समितिले स्वीकृति दिएपछि पात्रो प्रकाशन हुनेछ ।
मन्त्रिपरिषद्ले वि.सं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृतिबमोजिम पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको अनुमति दिँदै आएको छ । गठन आदेशबमोजिम समितिको स्वीकृतिबिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन । स्वीकृतिबिना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारबाही गरिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।
विसं २०८२ का लागि पनि केही पात्रो समितिको स्वीकृति नलिइ प्रकाशन भइसकेको सूचना आएकाले तिनलाई के गर्ने भन्ने विषयमा समितिमा छलफल भइरहेको जानकारी उनले गराए । समितिको स्वीकृति नलिइ प्रकाशन भएका पात्रो प्रयोग गर्दा समस्या पर्ने भएकाले सचेत हुन आह्वान गरिएको छ ।