सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ माघ ११ गते हुने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

 बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग छिचोल्ने अन्तिम कार्य (ब्रेक थ्रु) प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुन लागेको हो । यसअघि माघ ८ गतेलाई तय भएको सुरुङमार्ग ‘ब्रेक थ्रु’ कार्यक्रम ११ गतेलाई सारिएको छ  ।

सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले लामो प्रतीक्षापछि ‘ब्रेक थ्रु’ गर्न लागिएको बताउदै भने “यसका लागि प्रधानमन्त्री सहभागी हुने निश्चित भएको छ,”  आयोजना प्रमुख अधिकारीका अनुसार प्रधानमन्त्रीको समयलाई हेरेर माघ ११ गतेलाई तोकिएको हो । ‘ब्रेक थ्रु’ लाई विशेष बनाउने गरी तयारी भइरहेको पनि उनले जानकारी दिए  ।

सुरुङमार्ग खनेर सक्न अब डेढ मिटर मात्र बाँकी छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको अति दुर्घटना स्थल सिद्धबाबामा सुरुङमार्ग आयोजना अगाडि बढाइएको हो । एक हजार १२६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको आयोजना प्रमुख अधिकारीले बताए  । जसमध्ये ‘ब्रेक थ्रु’ का लागि १.५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ ।’’

यसअघि नै तीन वटा बाइपास सुरुङ मुख्य सुरुङसम्म जोडिएको छ । बाइपास सुरुङ–३ को गत भदौ २६ मा, बाइपास सुरुङ–१ को असोज ४ मा र बाइपास सुरुङ–२ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास–१५१, २६१ र ३३० मिटर टनेल छन् । दक्षिणतर्फ ६०८ र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ । आयोजनाका अनुसार ‘ब्रेक थ्रु’ समारोह हुने दिनमा साढे एक मिटर भागलाई विस्फोट गरिने छ ।

मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा ‘लाइनिङ’ गर्ने कामलाई तीव्रता दिइने छ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढेको छ । त्यसपछि विद्युतीकरण, ‘भेन्टिलेसन’, नालीलगायतका कामलाई गति दिइने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन  । उनका अनुसार सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको छ ।

‘ब्रेक थ्रु’ पछि अन्य काम धमाधम अगाडि बढ्ने पनि सूचना अधिकारी ज्ञवालीले जानकारी दिइन  । सिद्धबाबा क्षेत्रमा अहिलेको सडकमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्गमिटरको काम भएको छ  । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ ।

अहिले चालु सडकमा ‘रक सेड’, ‘रक फल ब्यारियर’ र ‘स्लोप प्रोटेक्सन’ को काम हुने छ  । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको ठेक्का भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *