बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्म सडक निर्माण काम माघ पहिलो सातादेखि सुरू हुने भएको छ।सडक विभागले बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर र गोरूसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ। पहिलो चरणमा बुटवल–गोरूसिंगे खण्ड बन्ने भएको हो।
बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो। चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेका हुन्।
बुटवल–गोरूसिंगे सडक निर्माण आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग कार्यादेश लिएको थियो। अहिले काम थाल्ने तयारी गरिरहेको छ।’कार्यादेश लिए पनि तयारीका लागि तीन महिना चाहिन्छ भनेकाले माघको पहिलो सातादेखि काम सुरू हुन्छ,’ न्यौपानेले भनिन्, ‘कम्पनीले ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइरहेको छ।’
उनका अनुसार एकै कम्पनी भए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का भएकाले काम पनि दुई तर्फबाट एकैपटक सुरू हुनेछ। पचास किलोमिटर सडक अन्तर्गत सालझण्डी–पिपरा र वनगाई–गोरूसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ। यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ।
यो कामका लागि रूपन्देहीका सडक किनारमा पर्ने निजी भौतिक संरचना हटाइसकिएको छ भने प्रतीक्षालय र बिजुलीका खम्बा हटाउन बाँकी छ। कपिलवस्तुमा विभिन्न स्थानमा गरी ३० वटा घर भत्काउन बाँकी छ।’यो सडकका लागि ठाउँ खाली गर्न समस्या छैन। कपिलवस्तुमा बाँकी घरको पनि थोरै थोरै भाग मात्र भत्काउनुपर्ने छ। व्यक्तिगत संरचना भत्काउँदा आयोजनाले क्षतिपूर्ति उपलब्ध गराउँछ,’ न्यौपानेले भनिन्।
पहिलो चरणमा बन्ने ५० किलोमिटर खण्डमा ३० वटा ठूला पुल र १४ वटा कल्भर्ट पनि बनाइनेछ। बजार क्षेत्रमा ६ वटा अन्डर/ओभर पास हुनेछन्।यसको कुल लागत १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रूपैयाँ छ। यसमध्ये बुटवल–कोठी खण्डको सात अर्ब ८९ करोड र कोठी–गोरूसिंगेको ५ अर्ब ६६ करोड रूपैयाँमा सम्झौता भएको छ।
निर्माण कम्पनीले प्रारम्भिक कामका लागि १० प्रतिशत रकम लगिसकेको छ भने ५ प्रतिशत काम सुरू गरेपछि भुक्तानी गरिनेछ। सम्झौता अनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र काम सक्नुपर्नेछ।
यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ। बुटवल–गोरूसिंगेको काम सुरू भएपछि गोरूसिंगे–चन्द्रौटाको ठेक्का लगाउने विभागको तयारी छ। त्यसपछि कोहलपुर र त्यहाँभन्दा पनि पश्चिमसम्म चरणबद्ध रूपमा सडक विस्तार गर्ने लक्ष्य छ।
तत्कालीन राजा महेन्द्रको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नती हुन लागेको हो। पूर्व–पश्चिम राजमार्ग विस्तार योजना रूपन्देहीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल यसअघि अर्थमन्त्री भएका बेलामा अगाडि बढेको थियो।
बुटवल–गोरूसिंगे सडक विस्तार क्रममा साना–ठूला गरी ७ हजार १७७ वटा रूख काट्नुपर्ने भएको छ। वनका साथै बस्ती क्षेत्रमा पनि दायाँबायाँ वर, पिपल, स्वामी, कदम, सिमल, कल्पवृक्ष जस्ता ठूला रूख छन्।वन विभाग र जिल्ला वन कार्यालयबाट सडक क्षेत्राधिकार भित्रका रूख काट्न स्वीकृति लिइसकेको र प्रदेशको वन निर्देशनालयबाट स्वीकृति लिएपछि कटान सुरू गर्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिइन्।’माघ पहिलो सातादेखि रूख कटानको काम पनि सँगै सुरू हुन्छ,’ उनले भनिन्।
वन नियमावली अनुसार संरचना निर्माणका लागि एउटा रूख काट्दा सट्टामा दस वटा बिरूवा रोप्नुपर्छ। यस हिसाबले यहाँ काटिने रूखको साटो ७० हजारभन्दा धेरै नयाँ बिरूवा खाली जमिनमा रोपेर हुर्काउनुपर्ने हुन्छ। यो कामका लागि आयोजनाले चार करोड रूपैयाँ छुट्ट्याएको छ। बिरूवा लगाउने काममा आयोजना कार्यान्वयन हुने जिल्ला वन डिभिजन कार्यालयले समन्वय र सहजीकरण गर्नेछ।
‘नयाँ बिरूवा रोपेर हुर्काउने बेलासम्मको सबै खर्च प्रबन्ध गर्न विभागले आयोजनालाई निर्देशन दिइसकेको छ। कुन क्षेत्रमा कति रूख रोप्ने भन्ने चाहिँ यकिन भइसकेको छैन,’ आयोजना प्रमुख न्यौपानेले भनिन्।