काठमाडौँ–कुलेखानी–हेटौँडा सडक निर्माण सुस्त

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँदेखि कुलेखानी हुँदै हेटौँडा पुग्ने सडक निर्माणमा चरम लापरबाही र ढिलाइ हुँदा काठमाडौँ र मकवानपुरका दुई पालिकाका नागरिक सास्ती भोग्न बाध्य छन् । छ वर्षअघि काम सुरु गरे पनि सडक निर्माण र कालोपत्रे गर्ने कार्य सम्पन्न नहुँदा काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकासहित अन्य पालिकाका नागरिक धुलोको प्रताडना भोग्न बाध्य भएका हुन् ।

सडक निर्माणमा विलम्ब हुँदा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । तराई मधेशबाट हेटौँडा हुँदै काठमाडौँ आउने सबैभन्दा छोटो सडक बाढीपहिरोले बगाउँदा दैनिक यात्रा गर्ने झन्डै पाँच सय वटा सवारीसाधनका यात्रुको बेहाल हुने गरेको छ । हेटौँडा हुँदै तराई मधेश जाने नेपाली र पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय तीर्थयात्री जोखिम मोलेर यात्रा गरिरहेका छन् । स्थानीयवासीका अनुसार सडकमार्ग क्षतविक्षत हुँदा इन्द्रसरोवर गाउँपालिकामा दिनैपिच्छे दुर्घटना हुने गरेको छ ।

दुवै योजनाको काम ढिलाइ

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ डिभिजनल इन्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार काठमाडौँबाट हेटौँडा जाने सडकको दुवै खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । उनले हेटौँडा फाखेल फर्फिङ सडक आयोजना अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ मा सडक विस्तारको काम भइरहेको बताए  । उनका अनुसार कुलेखानी, सिस्नेरी, छैमले, दक्षिणकाली सडकमा मकवानपुरतर्फको काम रमण पिआर त्रिवेणी जेभीले गरिरहेको छ । १२ किलोमिटर १५८ मिटर सडकखण्ड निर्माणका लागि सडकखण्डको सम्झौता रकम ४३ करोड ४१ लाख १६ हजार ८९ रुपियाँ रहेको छ ।

त्यसै गरी कुलेखानी, सिस्नेरी, छैमले, दक्षिणकाली सडकको काठमाडौँतर्फको खण्डको काम रौताहा रामसागर जेभीले गरिरहेको छ । सात किलोमिटर ७६९ मिटर सडक स्तरोन्नति र कालोपत्रे गर्नका लागि ३१ करोड ९८ लाख ११ हजार ७४४ रुपियाँ सम्झौता रकम निर्धारण गरिएको छ ।

धुलो अचाक्ली, दिनैपिच्छे आन्दोलन 

हेटौँडा, फाखेल र फर्पिङ सडक आयोजनाको काम सुस्त हुँदा दक्षिणकाली नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका नागरिक धुलैधुलोमा बस्न बाध्य छन् । फर्पिङमा व्यापार गर्ने सुमित्रा लुइँटेलका अनुसार दुई वर्षयता व्यापार व्यवसाय ठप्प छ । “सडक भत्काउन थालेको पाँच, छ वर्ष भइसकेको छ । स्थानीयवासीले दबाब दिन आन्दोलन पनि गर्दै आएका छन्,” उनले भनिन , “धुलो उड्छ, स्वास फेर्न समस्या हुन्छ । दिनभरिमा एक कप चिया बिक्री हुँदैन । हिउँद लागेपछि दिनदिनै आन्दोलन गर्दा पनि ठेकेदारले काम गरेका छैनन् । दुई तीन किलोमिटर सडक कालोपत्रे गरेर छोडेका छन् ।”

दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले दक्षिणकालीबाट सिस्नेरी, कुलेखानी हुँदै हेटौँडा जाने सडक निर्माण सुस्त भएको बताए  । उनले भने , “केही काम भएको छ तर यो उल्लेख्य प्रगति होइन ठेकेदारलाई ताकेता गर्दा पनि सडक निर्माण सुस्त भएको सत्य हो ।”

अर्को सडक पनि उस्तै

प्रवक्ता यादवका अनुसार हेटौँडा फाखेल फर्पिङ सडक आयोजना अन्तर्गत कुलेखानी हुमाने भन्ज्याङ सडकखण्ड निर्माण गर्न ठेक्का दिइएको छ । हुमानेदेखि कलङ्कीसम्मको सडक आयोजनाको लम्बाइ १२ किलोमिटर ६ सय मिटर रहेको छ ।उनले २०८० वैशाख १७ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको सडकको सम्झौता रकम ४० करोड ७२ लाख ४५ हजार ५८१ रुपियाँ रहेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *