५ हजार अंक जोड्ने रियल पहिलो टोली

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रियल मेड्रिड स्पेनिस ला लिगाको इतिहासमा ५ हजार अंक जोड्ने पहिलो टोली बनेको छ। सबैभन्दा धेरै घरेलु लिग जितेको रियल अब स्पेनिस ला लिगाको इतिहासमै सबैभन्दा धेरै ५ हजार अंक जोड्ने पहिलो क्लब बनेको हो। रियलले सबैभन्दा धेरै ३६ पटक ला लिगाको उपाधि जितेको छ।

सिजनको १९औं खेलमा रियल मेड्रिडले भ्यालेन्सियालाई उनीहरूकै घरेलु मैदानमा २–१ गोलअन्तरले हराएपछि ला लिगामा ५ हजार अंकको कोशेढुंगा पूरा गरेको हो। भ्यालेन्सियाविरुद्धको कठिन जितमा रियलका ब्राजिलियन स्टार भिनिसियस जुनियरले रातो कार्ड पाएका थिए भने जुड बेलिङ्घमले पनि पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए।

उक्त खेलमा भ्यालेन्सियालाई हराउँदै तीन अंक जोडेपछि रियलले ला लिगामा हालसम्म जोडेको कूल अंक ५ हजार पुगेको हो। ला लिगाको अर्का बलियो प्रतिद्वन्द्वी बार्सिलोनाभन्दा रियलले ला लिगामा चाँडै ५ हजार अंकको कोशेढुंगा पूरा गर्न सफल भएको छ।

२७ पटक ला लिगाको उपाधि जितेको बार्सिलोनाले ५ हजार अंक भने कटाउन सकेको छैन। बार्सिलोनाको नाममा हालसम्म ४ हजार ८ सय ८७ अंकमात्रै रहेको छ। बार्सिलोना अझै ५ हजार अंकबाट ११३ अंकले पछि छ। समग्रमा यो करिब दुई सिजन बराबरको अंक हुन आउँछ।

ला लिगामा ५ हजार अंक पूरा गर्दा रियलले अहिलेसम्म कुल ६ हजार ५ सय २६ गोल गरेको छ। रियलले ५ हजार अंकको कोशेढुंगो छोइसक्दा बार्सिलोनापछि तेस्रो स्थानको एट्लेटिको मेड्रिडले हालसम्म कुल ४ हजार १८ अंक जोडेको छ। त्यसपछि एथ्लेटिक बिल्बाओले ३ हजार ७ सय ७१ र भ्यालेन्सियाले ३ हजार ७ सय ६७ अंक जाडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *